(Japan) 27 th September | 2022 | Tuesday | 4:29:33 PM || (Nepal) 1:14:33 PM
 
 

शेबदेको मनपरी ! प्रधानमन्त्री निकट चिकित्सकको स्वार्थका लागि गंगालालमा उमेर हद बढाइयो

Ekantipur   POSTED ON : Sunday, 07 August, 2022 | Views : 320

शेबदेको मनपरी ! प्रधानमन्त्री निकट चिकित्सकको स्वार्थका लागि गंगालालमा उमेर हद बढाइयो


काठमाडौँ, नेपाल ।

स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले प्रधानमन्त्री शेर बहादुर देउवा निकट एक चिकित्सकको स्वार्थका लागि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अवकाशको उमेर हद बढाउने निर्णय गरेका छन् ।

मन्त्री खापुङको अध्यक्षतामा शनिबार बसेको सञ्चालक समितिको बैठकले अस्पताललाई पर्न सक्ने आर्थिक भारलाई बेवास्ता गर्दै अवकाशको उमेर हद ६३ वर्ष पुर्‍याउने निर्णय गरेको हो । 

अस्पताल प्रशासन, आर्थिक महाशाखा, नर्सिङ विभाग, वरिष्ठ कन्सल्ट्यान्ट, कार्डियोलोजिस्ट तथा विभागीय प्रमुखहरूले दुई साताअघि क्लिनिकल अभ्यासका लागि अवकाशको उमेर हद ६० वर्ष नै उपयुक्त हुने राय दिएका थिए । प्रतिष्ठान भएको खण्डमा मात्र विशेषज्ञ, दक्ष प्राध्यापक जनशक्तिको हकमा उमेर हद ६३ वा ६५ गराउन सकिने नत्र अस्पताललाई आर्थिक भार परी उपचार महँगो पर्ने उनीहरूको निष्कर्ष थियो ।

मुटुको रोगसम्बन्धी स्वायत्त शैक्षिक प्रतिष्ठानका रूपमा विकसित नभईकन उमेर हद मात्र बढाए अस्पतालमा कार्यरत युवा चिकित्सकको समयमा पद बढुवा नहुने र यसले मनोबल गिर्नुका साथै काममा निरुत्साहित हुने वरिष्ठ कन्सल्ट्यान्ट कार्डियोलोजिस्ट तथा विभागीय प्रमुख डा. सुजीव राजभण्डारीले बताए ।

गंगालालका कर्मचारीको सेवा सर्त र सुविधासम्बन्धी नियमावली २०५८ (छैटौं संशोधनसहित) को नियम १०.१ मा कर्मचारीको उमेर ६० वर्ष पुगेपछि अनिवार्य अवकाश दिइने व्यवस्था छ । नियमावलीको त्यही व्यवस्था संशोधन गर्ने निर्णय शनिबार भएको हो । अस्पतालका कार्डियोलोजिस्ट डा. रवि मल्ल सोमबार ६० वर्ष पुग्दै छन् । 

हालको व्यवस्था अनुसार उनी उमेर हदका कारण स्वतः अवकाशमा जानुपर्ने हुन्छ । तर, मन्त्री खापुङले मल्लकै लागि अवकाशको उमेर हद बढाउन विशेष जोडबल लगाएर निर्णय गराएको स्रोतको भनाइ छ । अस्पतालको सञ्चालक समिति अध्यक्ष स्वास्थ्यमन्त्री रहने व्यवस्था छ ।

अवकाशपछि अस्पतालका कार्यकारी निर्देशकले करारमा नियुक्त गर्न सक्ने प्रावधान छ । करारमा काम गर्नुपरे सेवा सुविधा, पदलगायतमा कमी हुने भएकाले डा. मल्लको स्वार्थ पूरा गर्न प्रधानमन्त्रीको ठाडो आदेशमा मन्त्री खापुङले उमेर हद बढाउने निर्णय गरेको स्रोतको भनाइ छ । 

डा. मल्ल प्रधानमन्त्री शेरबहादुर देउवाका निकट मानिन्छन् । कार्डियोलोजिस्टहरूको अवकाशको उमेर हद बढाउन अर्का डा. अरुण मास्के पनि सक्रिय रहेको अस्पताल स्रोत बताउँछ ।