(Japan) 18 th April | 2024 | Thursday | 1:53:47 PM || (Nepal) 10:38:47 AM
 
 


एमालेको सहि प्रस्ताव ! वैवाहिक अंगीकृत नागरिकता सात वर्षपछि मात्र

  POSTED ON : Tuesday, 19 July, 2022 | Views : 2648

एमालेको सहि प्रस्ताव ! वैवाहिक अंगीकृत नागरिकता सात वर्षपछि मात्र


काठमाडौं, नेपाल ।

नेकपा एमालेका सांसदहरूले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न नेपालमा निरन्तर सात वर्ष बसेको हुनुपर्ने प्रावधान राख्न नागरिकता विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका छन्। 

एमाले सांसदहरू भीम रावल, कृष्णभक्त पोखरेल, सूर्य पाठक, शान्तिमाया पाख्रिन लगायतले राज्य व्यवस्था समितिले तयार पारेको प्रतिवेदनमा जस्तै वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न सात वर्ष नेपालमा निरन्तर बसोबास गरेको हुनुपर्ने व्यवस्था राख्न संशोधन दर्ता गराएका हुन् । 

२०७५ सालमा प्रतिनिधिसभामा दर्ता भएर राज्य व्यवस्था समितिले छलफलपछि संशोधन गरेर तयार पारेको प्रतिवेदनमा समेत वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न नेपाली नागरिकसँग विवाह गरेको सात वर्षसम्म निरन्तर नेपालमा बसोबास गरेको हुनुपर्ने व्यवस्था राख्न प्रस्ताव गरेको थियो ।

वर्तमान नेपाली काँग्रेस, माओवादी, समाजवादी लगायत दल मिलेर बनेको सरकारले उक्त विधेयक फिर्ता लिइसकेको छ ।

शेरबहादुर देउवा सरकारले संसदमा पेस गरेको नयाँ विधेयकमा वैवाहिक अंगीकृत नागरिकता सम्बन्धी प्राप्त गर्न कुनै समयको पावन्दी लगाउने गरी प्रस्ताव गरेको छैन । अर्थात् विवाह गरेर नेपाल आउनेवित्तिकै बिदेशी महिलाले नेपाली नागरिकता पाउनसक्ने व्यवस्था गरेको छ । यसले नेपालमा बिवाह गरि आउने भारतिय महिलाहरुले सहजै नेपाली नागरिकता पाउँदा तराईका जिल्लाहरुमा नेपाली अपनत्व गुम्दै गएको आम तराईवासीहरुले बताउँदै आएका छन् । 

संसद सचिवालयका अनुसार नागरिकता विधेयकमा ५० सांसदले २९ वटा संशोधन दर्ता गराएका छन् ।

विधेयकमा सत्ताधारी काँग्रेसका सांसदहरुले भने कुनै पनि संशोधन पेस गरेका छैनन् । अर्थात् बिहे गरेर आउने ईण्डियनहरुलाई तत्काल नेपाली नागरिकता दिने पक्षमा नेपाली काँग्रेसका सांसदहरु देखिएका छन् । अधिकांश संशोधन नेकपा एमालेका सांसदहरूले दर्ता गराएका हुन् । 

'नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले नेपालको अंगीकृत नागरिकता लिन चाहेमा सात वर्षसम्म नेपालमा स्थायी बसोबास गरेको रहेछ भने निजले नेपालको अंगीकृत नागरिकता प्राप्त गर्नेछ' भन्ने व्यवस्था राख्न एमाले सांसदहरूले संशोधन दर्ता गराएका हुन् ।

सात वर्षसम्मका लागि भने स्थायी बसोबास अनुमति पत्र दिने र त्यस्तो व्यक्तिलाई राजनीतिक बाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार हुने व्यवस्था गर्न सांसदहरूले संशोधन दर्ता गराएका हुन् । 

एमाले सांसद कृष्णभक्त पोखरेल, शान्तिमाया पाख्रिन, बिन्दा पाण्डे लगायतले नागरिकता जारी गर्दा लैंगिक पहिचान खुलाउनुपर्ने प्रस्ताव समेत गरेका छन् ।

'वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिलाई नेपाली नागरिक आमा वा बुवाको नाम र ठेगानाबाट नागरिकता दिन सकिनेछ' एमाले सांसद कृष्णभक्त पोखरेलले दर्ता गराएको संशोधनमा भनिएको छ, 'नेपाली नागरिकताको प्रमाणपत्रको लिंग महलमा महिला वा पुरूष वा अन्य उल्लेख गरी लैंगिक पहिचान समेत खुलाउनु पर्नेछ ।'

पोखरेलले दर्ता गराएको नागरिकता विधेयकको संशोधनमा प्रदेशको ठेगाना समेत उल्लेख गर्न सुझाइएको छ । 

त्यस्तै, एमालेकै सांसद बिन्दा पाण्डेले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्ने नेपाली पुरूषसँग विवाह भएकी महिला भन्ने शब्द प्रयोग नगरी नागरिक भन्ने शब्द राखेर संशोधन पेस गरेकी छिन् । पाण्डे नेकपा एमालेमा एनजिओ तथा आईएनजिओसँग निकट सम्वध रहेकी सांसद हुन् ।  

'नेपाली नागरिकसँग विवाह गरेका विदेशी नागरिक कानुनतस् नेपालमा सात वर्ष बसोबास गरेपछि वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न योग्य हुनेछु' पाण्डेको संशोधनमा भनिएको छ,'त्यस्तो विदेशी नागरिकले वैवाहिक अंगीकृत नागरिकता पाउनु पूर्वको अवधिका लागि राजनीतिक बाहेकका अधिकार सहितको स्थायी परिचयपत्र लिन सक्छेन् ।'