(Japan) 27 th September | 2022 | Tuesday | 4:04:27 PM || (Nepal) 12:49:27 PM
 
 

१७ गैंडा मारेर १५ बर्ष जेल बसेर छुट्न नपाई ४ वटा गैंडा मार्ने प्रजा पक्राउ

  POSTED ON : Sunday, 03 July, 2022 | Views : 1012

१७ गैंडा मारेर १५ बर्ष जेल बसेर छुट्न नपाई ४ वटा गैंडा मार्ने प्रजा पक्राउ


चितवन, नेपाल ।

चितवन राष्ट्रिय निकुञ्जका १७ गैँडा मारेपछि अदालतबाट १५ वर्ष कैद सजाय भोगेका बमबहादुर प्रजाले जेलबाट छुटेपछि फेरी चार वटा गैँडा मारेको पाइएको छ । जेलपछि छुटेपछि उनी पुनः गैँडा शिकार र खाग तस्करीमा संलग्न रहेको अनुसन्धानका क्रममा खुलेको हो ।

प्रजा २०६० सालमा पक्राउ परेका थिए । पन्ध्र वर्ष काराबासको सजायपछि उनी २०७५ मा रिहा भएका थिए । त्यति बेला उनले १७ गैँडा मारेको स्वीकार गरेका थिए ।

जेलबाट छुटेपछि पनि गैँडा मार्न सक्रिय प्रजालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीबार राति धादिङको मलेखुबाट पक्राउ गरेको छ ।

सिआईबी प्रमुख उत्तम सुवेदीले प्रजालाई पक्राउ गरी चितवन राष्ट्रिय निकुञ्जको जिम्मा लगाइएको जानकारी दिए । २०७७ साल कात्तिकमा चितवन राष्ट्रिय निकुञ्जको नारायणी नदीको टापुमा २०/२२ वर्षको माउ गैँडा र तीन वर्षको बच्चा मृत भेटिएको थियो । ती दुवै खाग झिकिएको अवस्थामा भेटिएका थिए ।

त्यसपछि चितवन राष्ट्रिय निकुञ्जले चलाएको स्वीप अप्रेसनका क्रममा थप दुई गैँडा पनि खाग झिकिएको अवस्थामा मृत भेटिएका थिए । ती चारवटै गैँडाको शिकार प्रजाको योजनामा भएको अनुसन्धानबाट खुलेको बताइएको छ ।