(Japan) 27 th September | 2022 | Tuesday | 6:00:54 PM || (Nepal) 2:45:54 PM
 
 

एमालेका ईश्वर पोखरेलको क्षेत्रबाट चुनाव लड्ने रन्जु दर्शनाको घोषणा

  POSTED ON : Sunday, 03 July, 2022 | Views : 590

एमालेका ईश्वर पोखरेलको क्षेत्रबाट चुनाव लड्ने रन्जु दर्शनाको घोषणा


काठमाडौं, नेपाल ।

विवेकशील साझा पार्टीबाट अलग भएकी रञ्जु दर्शना (न्यौपाने)ले आउँदो प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने भएकी छन्। उनले शनिबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत् यसको ‍औपचारिक जानकारी दिएकी छन्।

हाल स्वतन्त्र रहेकी उनले स्वतन्त्र उम्मेदवारी दिन्छिन् या कुनै पार्टीमा दिन्छिन् भन्ने चाहिँ खुलाएकी छैनन्। दर्शना केही समय पहिले विवेकशील साझा पार्टीबाट अलग भएकी थिइन्। 

‘आउने संघीय चुनावमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नुभएको छ। आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यँहाहरूसमक्ष बाँड्न पाउँदा हर्षित छु ,’ उनले लेखेकी छन्।

उनले आफ्नो प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सारथी बन्न चाहनेहरूलाई फर्म भर्न अनुरोध गर्दै एउटा लिंक पनि उपलब्ध गराएकी छन्। 

अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–५ बाट नेकपा एमालेका ईश्वर पोखरेल निर्वाचित भएका थिए।

त्यसबेला यो क्षेत्रमा विवेकशील साझाबाट तत्कालीन अध्यक्ष उज्ज्वल थापा उठेका थिए। थापाले छ हजार आठ सय ५३ मत ल्याएका थिए।

रञ्जु भने २०७४ को स्थानीय निर्वाचनमा काठमाडौंको मेयर उठेकी थिइन्। त्यतिबेला उनी २३ हजार ४३९ मत ल्याउँदै नेकपा एमालेका विद्यासुन्दर शाक्यसँग पराजित भएकी थिइन ।