(Japan) 28 th March | 2024 | Thursday | 5:30:55 PM || (Nepal) 2:15:55 PM
 
 


फोहोर फाल्न अवरोध गर्नेमाथि बल प्रयोग गरेर बन्चरेडाँडामा फोहोर फालिँदै

  POSTED ON : Wednesday, 08 June, 2022 | Views : 2292

फोहोर फाल्न अवरोध गर्नेमाथि बल प्रयोग गरेर बन्चरेडाँडामा फोहोर फालिँदै


काठमाडौँ, नेपाल ।

बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिको नाममा समितिका केही ब्यक्तिले गरेको अवरोध प्रहरीले बल प्रयोग गरेर हटाएको छ ।

फोहोर विसर्जनका लागि काठमाडौंबाट गएका सवारीलाई सरोकार समितिले सडकमा अवरुद्ध गरेपछि प्रहरीले बल प्रयोग गरेर हटाएको छ ।

धुनिबेंसी नगरपालिका–१ र ककनी गाउँपालिका–३का क्षेत्रमा प्रहरीले धरपकड गर्दै अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेको छ ।

सरोकारवाला समितिका उपाध्यक्ष सन्नोत उप्रेतीले प्रहरीले २० जनाभन्दा बढी स्थानीयलाई नियन्त्रणमा लिएको जानकारी दिए । घटनास्थलमा रहेका उप्रेतीले  फोन कुराकानीमा भने, ‘हामीले प्रहरीलाई शान्तिपूर्ण आन्दोलन गरेका हौं दमन गर्ने कोसिस नर्गनुहोस् भन्दाभन्दै उहाँहरु हामीले धर्ना दिइरहेको ठाउँमा आएर धरपक्कड गर्न थाल्नुभयो । महिलामाथि हातपात भएको छ, कसैको लुगा च्यातिएको छ । बुढापाकलाई लात्तीले हानेका छन् । ’

प्रहरीले घरघरमै पुगेर स्थानीयवासीलाई लाठी प्रहार गरिरहेको पीडितहरुले बताएका छन् । उनीहरुले सडकमा हिँडिरहेकाहरुलाई पनि प्रहरीले बल प्रयोग गरेको उप्रेतीले बताए ।

धुनिबेंसीको कुरुले क्षेत्र र नुवाकोटको बन्चरेडाँडा क्षेत्र अहिले तनावग्रस्त रहेको उनले बताए । अहिले पनि भिरपाखामा प्रहरी र युवाहरुबीच झडप भइरहेको उनले जानकारी दिए ।

‘हामीले सम्बन्धित मानिसहरु आऊ, हिजो भएको सहमतिबारे हामीलाई बुझाऊ, हाम्रो माग पूरा गर भन्दा उल्टै हामीलाई तिमीहरुको जनप्रतिनिधिहरुले निर्णय गरेको भन्दै आक्रमण गरे, ’ उप्रेतीले भने, ‘हाम्रो माग धेरै ठूलो पनि हैन, फागुन २६ गतेको निर्णय कार्यान्वयन गर मात्रै भनेका हौं । ’

सरोकारवाला समितिका अध्यक्ष श्रीराम ढुंगानासहित केही स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नुवाकोटका एसपी रामप्रकाश साहले सिसडोलको अवरोध खोलिएको जानकारी दिए ।

'सिसडोलको अवरोध हटाइएको छ त्यहाँबाट सवारी साधनहरु बन्चरे डाँडातर्फ लागेका छन्,' एसपी साहले भने, ' वर्षाका कारण सडक हिलाम्मे भएकाले केही समय लाग्न सक्छ ।' अहिलेसम्म १४ जनालाई मात्रै नियन्त्रणमा लिइएर कटुन्जे पुलमा राखिएको उनले बताए ।