काठमाडौं, नेपाल ।
नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर एवं पूर्वअर्थसचिव हिमालय शमशेर राणालाई जापान सरकारले ‘अर्डर अफ जापान’ (द अर्डर अफ द राइजिङ सन, गोल्ड एन्ड सिल्भर स्टार)बाट सम्मान गरेको छ ।
नेपालका लागि जापानका राजदूत किकुता युताकाले मंगलबार विशेष समारोहमा राणालाई उक्त अवार्ड प्रदान गरेका हुन् । राणाले सन् १९६० मा बैंक अफ जापानमा पहिलो विदेशी केन्द्रीय बैंकमा खाता खोलेका थिए ।
नेपालस्थित जापानी दूतावासले अन्तर्राष्ट्रिय विद्यार्थी आदान–प्रदानको १२० औं वार्षिकोत्सव मनाउँदै सगरमाथा चढ्ने पहिलो महिला पर्वतारोही जुनको ताबेईको उपलब्धिको स्मरण समेत गरिएको थियो ।
जापानी दूतावासका अनुसार यस विशेष वर्ष २०२२ मा जापान र नेपालबीचको अन्तर्राष्ट्रिय विद्यार्थी आदान–प्रदानको १२०औं वार्षिकोत्सवको अवसरमा राजदूत किकुताले जापान र नेपालबीचको जनस्तरको सम्बन्ध आदान–प्रदानको लामो इतिहासको स्मरण गरे ।
सम्मानित पूर्वगभर्नर राणाका हजुरबुवा नेपालका तत्कालीन प्रधानमन्त्री देवशमशेर जंगबहादुर राणाको उपलब्धिलाई राजदूतले प्रशंसा गरेका थिए । सन् १९०२ मा पहिलो पटक आठ नेपाली विद्यार्थीलाई जापान पठाउने निर्णय प्रधानमन्त्री देवशमशेरले नै गरेका थिए ।
राजदूत किकुताले आफ्नो मन्तव्यमा नेपाल-जापान सम्बन्धको इतिहासबारे खुलेर प्रशंसा गरेका थिए । यस क्रममा उनले जापानी आरोही ताबेईको उपलब्धि र नेपालले उनलाई दिएको सम्मानको पनि स्मरण गरे ।