(Japan) 27 th September | 2022 | Tuesday | 5:35:33 PM || (Nepal) 2:20:33 PM
 
 

काठमाडौंको मेयर जीत पक्का भएपछि बालेनले भने ‘मतदातालाई धन्यवाद भनौँ, घोषणापत्र अनुसार काम गर्न सकेको दिन विजय जुलुस मनाउँला’

  POSTED ON : Wednesday, 25 May, 2022 | Views : 450

काठमाडौंको मेयर जीत पक्का भएपछि बालेनले भने ‘मतदातालाई धन्यवाद भनौँ, घोषणापत्र अनुसार काम गर्न सकेको दिन विजय जुलुस मनाउँला’


काठमाडौँ, नेपाल ।

काठमाडौं महानगरपालिका मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह 'बालेन'ले आफ्नो जित पक्का भएसँगै विजय जुलुस नगर्न सबैलाई आग्रह गर्नुभएको छ ।

बालेनले १९ हजार तीन सय २३ मत गणना गर्न बाँकी हुँदा उहाँले २० हजार मतको अग्रता बनाइसक्नुभएको छ । यो सँगै बालेनको जित हुने सुनिश्चित भएको छ । 

जित निश्चित भएसँगै बालेनले आफ्नो चुनावी प्रक्रियामा सहभागी हुने सबैलाई धन्यवाद दिँदै आ-आफ्नो ठाउँबाट सबैले धन्यवाद र्‍याली निकाल्ने तर विजय जुलुस नगर्न आग्रह गर्नुभएको हो । यस्तै उहाँले आफूले चुनावी घोषणापत्रमा उल्लेख भएका काम पूरा गर्न सकेको दिन मात्र विजय जुलुस निकाल्न आफ्ना समर्थकलाई आग्रह गर्नुभएको छ ।

बालेन्द्रले आफ्नो फेसबुक पेजमा लेख्नुभएको छ, 'जित-हारलाई मतगणना सकिएसँगै सकिदिउँ । घोषणापत्रमा भएका कुराहरु लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला । तर अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगरौँ ।'

काठमाण्डौ महानगरमा अहिलेसम्म एक लाख ७१ हजार ८०२ मत गणना हुँदा बालेनले ५५ हजार ७४५ मत प्राप्त गर्नुभएको छ । बालेनले आफ्ना निकट प्रतिस्पर्धी कांग्रेस उम्मेदवार सिर्जना सिंहलाई २० हजार ३७६ को फराकिलो मतान्तरले पछि पार्नुभएको छ । सिंहले ३५ हजार ३७१ मत प्राप्त गर्नुभएको छ । यस्तै एमाले उम्मेदवार केशव स्थापितले ३४ हजार ६२६ मत पाउनुभएको छ ।