वीरगञ्ज, नेपाल ।
मतगनणा बाँकी रहेपनि वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंह बिजयी भइसकेका छन ।
सकिएको मतगनणामा मेयरमा राजेशमासंगै उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमको जित सुनिश्चित भएको छ । गणना हुन बाँकी मतभन्दा बढी अन्तरले अगाडि रहेपछि राजेशमान र इम्तियाजको जित सुनिश्चित भएको हो ।
वीरगञ्जमा १ लाख २४ हजार ६ सय ४७ मतदाता रहेकोमा ९३ हजार ७ सय ८२ मत खसेको थियो । ७७ हजार ५७७ मत गणना भइसकेको भने अब १६ हजार २०५ मत गणना हुन बाँकी छ ।
तर जसपाका मेयर उम्मेदवार राजेशमान सिंह नेकपा एमालेका उम्मेदवार विजय कुमार सरावगीभन्दा १८ हजार ७५८ मत अन्तरले अगाडि छन् ।
यो गणना हुन बाँकी १६ हजार २०५ मतभन्दा २ हजार ५५३ मत बढी हो । यस आधारमा अब गन्न बाँकी भोट एउटै राजेशमानले नपाएपनि उनी बिजयी हुनेछन् । राजेशमानले ३८ हजार ४३७ र सरावगीले १९ हजार ६७९ मत ल्याएका छन् ।
राजेशमान, ०७४ सालमा निवर्तमान नगर प्रमुख एवं हाल एमालेका तर्फबाट मेयर उम्मेदवार सरावगीसँग पराजित भएका थिए । तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा उठेका सरावगीले १९ हजार ३९३ मत ल्याएर विजयी हुँदा राजेशमान १२ हजार १६५ मत ल्याएर तेस्रो स्थानमा थिए । यसपटक सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राजेशमानले शुरुदेखि नै अग्रता कायम राखे ।
मेयर पदका अर्का प्रत्यासी राप्रपाका गिरीश गिरीले ३ हजार ४५८ मत पाएका छन् ।
त्यस्तै उपमेयरमा पनि गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका इम्तियाज आलमले शुरुदेखि नै अग्रता लिइरहेका छन् । उनले निकटतम अर्का प्रत्यासी लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तम लाल झाले भन्दा झण्डै ४ गुणा बढी मत ल्याएका छन् ।
इम्तियाजले २४ हजार ९१५ मत पाउँदा झाले हालसम्म ६ हजार ५६८ मत मात्रै पाएका छन् । उनीहरुबीच १८ हजार ३४७ को मतान्तर देखिएको छ । उपमेयरमा पनि इम्तियाजको जीत निश्चित भएको छ ।