धरान, नेपाल ।
धरान उपमहानगरपालिकाको जारी मतगणना अन्तिम चरणमा पुग्दा स्वतन्त्र उम्मेदवारका रुपमा लौरो चुनाव चिन्ह पाएका हर्क साम्पाङ विजयी हुने निश्चित जस्तै भएको छ ।
२० वडा रहेको धरानमा १७ वडाको मत गणना सम्पन्न भएको छ । अहिले धरान १५, १६ र १७ को मत गणना भइरहँदा उनी प्रतिस्पर्धी उम्मेदवार भन्दा धेरै मतले अगाडी रहेको र गन्न मत बाँकी रहेका क्षेत्रमा समेत हर्ककै प्रभाव रहेकाले उनको जीत पक्का भएको हो ।
सत्ता साझेदार गठबन्दनका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार साम्पाङ र उपमेयरमा गठबन्धनको तर्फबाट उपमेयरका प्रत्यासि अइन्द्रविक्रम बेघाले बढि मत पाउँदै अग्रता बढाइरहेका छन् ।
मेयरका प्रत्यासी स्वतन्त्रका हर्कले यो समाचार तयार पार्दासम्म १३,५४६ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन्। उनलाई कांग्रेसका किशोर राईले मात्र ११,६०६ मत प्राप्त गरि पछ्याई रहेका छन्। एमालेकी मन्जु भण्डारीले केवल ९,४५१ मत प्राप्त गरेकी छन्।
एमालेको पकड रहेको क्षेत्रमा हर्कले कांग्रेस र एमालेका दुबै उम्मेदवारको भन्दा बढी मत प्राप्त गर्न थालेपछी हर्कको विजय सुनिश्चित जस्तै बनेको हो । धरान १५ र १६ धेरै मतदाता भएको वडा हो । १५ मा वडाअध्यक्षमा एमालेका नरेश इवारम र १६ मा कांग्रेसका मुरारी भट्टराईको प्यानल नै अग्रता लिएको छ। मेयरमा भने हर्कले नै बढी मत ल्याएर मतान्तर बढाइरहेका छन् ।
उपमेयरमा गठबन्दनको तर्फबाट माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले १३५७३ मत प्राप्त गरी अग्रता कायमै राखेका छन्। एमालेका पदम इस्वोले १२७६१ मत प्राप्त गरी बेघालाई पछ्याइरहेका छन्।