अघि भर्खर मात्र
२३ नम्बरको माइक्रोबसको
खलाँसीले सोध्यो- दाई जाने हो ?!
म किन जान्छु र त्यो मूला संग
बेपर्वाह बालाजु तिर ?!
मलाई त
शिंहदरवार घुम्नुछ
बालुवाटारमा बात मार्नुछ
नयाँबानेश्वरमा नजारा हेर्नुछ
शीतल निवासमा सुस्ताउनुछ !
किन फेरि उत्तिबेलै
१४ नम्बरको टेम्पोको खालासीले सोध्दैछ-
दाई जाने हो ?
म किन जान्छु र त्यो झ्याँस संग
लखरलखर लगनखेल तिर ?!
म त गाऊँ बाट निस्किने बेला
हर्के-बिर्खेले ‘कहाँ जाने हो’ भनी सोध्दा
छाती फुलाएर अदबसित
‘देश बनाउन राजधानी जाने हो’ भनी हिंडेको मान्छे,
गोडाफाट-सतर्कका परेडहरु खेल्दै
लोकतन्त्र र स्वतन्त्रताको दुहाई दिंदै
कहिले दाई, कहिले बा र कहिले कमरेड कहलिंदै
घर, समाज र संगीसाथी बाट छुट्टिएको मान्छे !
म पनि त चढूँला नि करोडौंको गाडी
मैले पनि त ठड्याउँला नि दरबार जत्रो घर
भर्खर त ल्याएको छु घोंडा चढ्ने गणतन्त्र
बल्लतल्ल त रमाएको छु
हजारौं राजा जन्माउने संघीयतामा !
मर्न तयार मूर्खहरुको कमी नभएको देशमा
मार्न तयार दुष्टहरुको जगजगी भएको देशमा
म पनि त आएको छु गाउँबाट झोलामा बोकेर
एक पोका गुन्द्रुक, एक बट्टा घिउ
थोरै सुकाको साग र अलिकती मूलाका चाना !!
यो मूला सहर
म मूलालाई मूल्य मात्र सुनाइरहन्छ
‘जाने हो’ भनी बोलाइरहन्छ !
म पनि त छिरूँला नि मन्त्री क्वाटर
चप्पल पड्काउँदै
अनि निस्कूँला झण्डा हल्लाउँदै !
म पनि त बनूँला नि मूर्खहरुको महाराजा
अनि हाँकूला देशलाई मैमत्त भै !!
फेरि किन जिस्काउँदैछ
नीलो माइब्रोबसको खलाँसीले
‘रात परिसक्यो, जाने हो’ भन्दै ?!
म किन जान्छु र गौशाला र धर्मशालाहरुमा
सम्भावनाको लेश
र
भावनाको देश नै नभएको नेपाली झैं !!
उ.. परबाट
सुन्दरीहरु आउँदैछन् मतिरै
भविष्यको ठुलो मानिस हो भन्ने जानेरै !
भन्दैछन् उनीहरुले पनि ‘जाने हो’ ?
जम्मा पाँच सय त हो,
आज उनीहरुकै प्रस्ताव मान्ने हो !!
नीति, सिद्धान्त, वाद र आदर्श
तिमीहरु झोला भित्रै बस !
लाज पचाउने सिकाइको पहिलो रात हो यो
म कहाँ अलग छु र अरुभन्दा
आफू नग्न हिंडेर अरुलाई कुरीकुरी भन्नेको जमात हो यो !
हिंड सुन्दरी, जाऊँ !
आजको रात
तिमीहरुको बाध्यता संग खेलूँ
भोली बिहानै
देशको अस्मितासंग खेल्न
शिंहदरवार जाने हो, बालुवाटार जाने हो !
हिंड,
यो सहमति गोप्य भयो, लैजाऊ जहाँ लैजाने हो !!
…
हेमन्त गिरी, जापान