(Japan) 17 th April | 2024 | Wednesday | 3:59:02 AM || (Nepal) 12:44:02 AM
 
 


साइतामा, खानागावा र चीबामा पनि आपतकाल लगाउने तयारी

  POSTED ON : Thursday, 29 July, 2021 | Views : 4112

साइतामा, खानागावा र चीबामा पनि आपतकाल लगाउने तयारी


टोकियो, जापान ।

केन्द्र सरकारले राजधानी आसपासका तीन प्रान्त खानागावा, चीबा र साइतामाले आपतकाल अनुरोध गरेमा तत्काल सम्वोधन गर्ने भएको छ ।

केन्द्र सरकारको यस्तो धारणा आएकै दिन खानागावा प्रान्तका गभर्नरले आपतकाल अनुरोध गर्ने तयारी गरेको बताएका छन् भने यहाँ हालसम्मकै धेरै नयाँ संक्रमित पुष्टि भएका छन् ।

निकट भविष्यमा आफ्नो प्रिफेक्चरले साइतामा र चिबा प्रिफेक्चरसँग मिलेर केन्द्र सरकारलाई आपतकाल घोषणा गरिदिन अनुरोध गर्ने खानागावा प्रिफेक्चरका गभर्नरको भनाई छ । बुधवार एकैपदक यि तीनवटै प्रान्तमा हालसम्मकै सर्वाधिक संक्रमित पुष्टि भएका छन् ।

खानागावामा बुधवार १ हजार संक्रमित नाघ्दा साइतामा ८७० र चिबा ५७० पुष्टि भएको छ । पछिल्लो तीन सातायता राजधानी टोकियो र आसपासका प्रान्तहरुमा संक्रमण बढिरहेको छ । संक्रमणको अवस्था चिन्ताजनक मोडमा प्रवेश गरेको बुधबार खानागावाका गभर्नर कुरोइवा युजीले बताएका छन् । कोभिड–१९ विरोधी खोप कार्यक्रमलाई तीव्रता दिन पनि प्रिफेक्चर संघर्षरत रहेको र खोप कार्यक्रम कहिले उत्कर्षमा पुग्छ भन्ने पनि पक्का नभएको उनले बताए ।

स्थानीय चिकित्सा प्रणाली धराशयी हुने संघारमा पुगेकोमा उनले चिन्ता व्यक्त गरेका छन् । आफ्नो प्रिफेक्चर र साइतामा अनि चिबाले आपतकाल घोषणा गराउन चाहेको तर अहिलेसम्म केन्द्र सरकारलाई यसका लागि कहिले अनुरोध गर्ने भनेर निर्णय नभइसकेको कुरोइवाको भनाई छ ।

टोकियो र आसपासका तीन प्रिफेक्चरमा एकै साथ आपतकाल लगाएमा यो प्रभावकारी हुने आफ्नो विश्वास रहेको उनले बताए । अहिले टोकियो र ओकिनावामा कोरोना नियन्त्रण गर्न आपतकाल लगाइएको छ ।

टोकियोका छिमेकी प्रिफेक्चरहरूले अनुरोध गरेमा आपतकाल घोषणाबारे विचार गरिने मन्त्री परिषद्का मुख्य सचिव कातो खाचुनोबुले बताएका छन् । बढ्दो संक्रमणबारे चिबा, खानागावा र साइतामा प्रिफेक्चरहरूसँग आफ्नो धारणा साट्न सरकारले काम गरिरहेको पनि उनले बुधबार पत्रकारहरूलाई बताएका छन् । सरकारले ओलम्पिक्स सम्बद्ध संक्रमण रोक्न सक्दो प्रयास गरिरहेको र यसलाई निरन्तरता दिने बताएका छन् ।

पछिल्लो समय राजधानी र आसपाका प्रान्तमा उच्च संक्राम डेल्टा भाइरसको संक्रमण फैलंदो क्रममा रहेको पाइएको छ ।

हाल टोकियो र ओकिनावा प्रान्तमा मात्रै आपतकाल रहेको छ । ओसाका प्रान्तले पनि आपतकाल घोषणाको अनुरोध गर्ने अपेक्षा गरिएको छ ।