(Japan) 29 th March | 2024 | Friday | 9:12:33 PM || (Nepal) 5:57:33 PM
 
 


टोकियोमा सोमबार १४ सय २९ जनामा कोरोना संक्रमण

  POSTED ON : Tuesday, 27 July, 2021 | Views : 1488

टोकियोमा सोमबार १४ सय २९ जनामा कोरोना संक्रमण


टोकियो, जापान ।

टोकियोमा सोमबार १ हजार ४२९ संक्रमित थपिएका छन् । यो आइतबारको तुलनामा २३४ कम भएपनि अघिल्लो सोमबारको तुलनामा चाँहि करीब दोब्बर हो ।

राजधानीमा ओलम्पिक्स चलिरहँदा महानगर सरकार संक्रमणको नयाँ लहरलाई नियन्त्रण गर्न संघर्षरत छ । योसँगै लगातार सातौं दिन पनि टोकियोमा दैनिक संक्रमण हजार माथि छ ।

टोकियो महानगर सरकारका अनुसार कूल संक्रमितमध्ये ४८८ जना २० देखि २९ वर्षबीचका छन् । ३१० जनाको उमेर ३० देखि ३९ वर्षबीच रहेको छ भने २३४ चाँहि ४० देखि ४९ वर्षबीचका छन् ।

१९ वर्ष वा सो भन्दा कम उमेरको संक्रमितको संखया १८३ छ । त्यस्तैगरी, ७८ जनालाई गम्भीर लक्षण देखिएर अस्पतालमा भर्ती गरेर उपचार गरिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । यो संख्या आइतबारको तुलनामा ६ धेरै हो ।

सोमबार सकिएको हप्तामा राजधानीमा दैनिक संक्रमित औसत १ हजार ५५३ दशमलव ९ रहेका छन् । यो अघिल्लो हप्ताको तुलनामा निकै धेरै हो । अघिल्लो सोमबार सकिएको हप्तामा टोकियोमा दैनिक औसत १ हजार १०० दशमलव ४ संक्रमित थपिएका थिए ।

सोमबार टोकियोका छिमेकी प्रिफेक्चरमा पनि संक्रमण बढेका छन् । कान्तो क्षेत्र बाहिर पनि संक्रमण बढेको संकेत आइरहेको छ । सोमबार टोकियो सम्बद्ध थप १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यसमा तीन जना विदेशबाट आएका खेलाडी भएको आयोजकहरूले बताएका छन् ।