टोकियो, जापान ।
जापानभर गरिएको एक सर्वेक्षणले पारिवारिक रुपमा सञ्चालित ठूला साना व्यवसायका दुई तिहाई कम्पनीको भावि उत्तराधिकारी नरहेको तथ्य सार्वजनिक गरेको छ । ति व्यवसायीका सन्तानहरु आफ्नो छुट्टै व्यवसाय वा रोजगारीमा लाग्दा पारिवारिक व्यवसायको उत्तराधिकारी नपाइएको बताइएको छ ।
एमएन्डए ब्रोकर सेवा प्रदायक पियर क्यापिटलले जापानभरि २० देखि ६९ वर्ष उमेरका ३,००० व्यक्तिहरूको प्रारम्भिक अनुसन्धानबाट ५३७ जनामा सर्वेक्षण गरेको थियो । सहभागीहरुलाई आमाबाबुको आफ्नै कम्पनीहरू रहेकामा आमाबाबुको व्यवसाय सम्हाल्नेछन् कि छैनन् भन्ने बारेमा सर्वेक्षण गर्न छनोट गरेको थियो ।
नतिजामा ५३७ उत्तरदाताहरू मध्ये १८.६ प्रतिशतले पहिले नै सम्हालिसकेको पाइएको थियो । १६.८ प्रतिशतले भविष्यमा सम्हाल्ने बताएका छन् । तर ६४.६ प्रतिशतले आफ्ना बुवा आमाको पेशा नअपनाउने वा फरक क्षेत्रमा आफु लाग्ने बताएका छन् ।
के तपाईं आफ्नो आमाबाबुको कम्पनी चलाउने योजना बनाउनुहुन्छ भनि सोधिएकामा ५१.३ प्रतिशतले पारिवारिक व्यवसाय अगाडि बढाउने कुनै मनसाय नभएको बताएका छन् । सबैभन्दा सामान्य कारण भनेको आफु छुट्टै अरुनै केही गर्न चाहन्छु भन्ने जवाफ सहभागीहरुको थियो । यसपछि ३२ प्रतिशतले पुर्ख्र्यौली व्यवसाय अस्थिर रहेको बताएका थिए भने २३.३ प्रतिशतले जिम्मेवारी लिन चाहन्न भनेका छन् ।
जिम्मेवारी नलिने कारणमा आमाबाबु व्यवसाय मालिक वा स्वरोजगार थिए भनेर सोधिएको थियो, 'बाल्यकालमा, के तपाईं आफ्ना आमाबाबु जस्तै काम गर्न चाहनुहुन्छ ?' भन्दा ६८ प्रतिशतले चाहन्न भन्ने जवाफ दिएका थिए ।
पारिवारिक व्यवसायमा लाग्न नचाहने कारणमा ४९ प्रतिशतले उक्त व्यवसाय गाह्रो भएको, ३२.४ प्रतिशतले पहिले नै केहि फरक काम गर्ने निर्णय गरिसकेका बताएका छन् । २२.६ प्रतिशतले भने पुर्ख्यौली पेसाबाट पर्याप्त आम्दानी नहुने देखेको बताएका छन् ।