(Japan) 17 th May | 2025 | Saturday | 6:46:28 PM || (Nepal) 3:31:28 PM
 
 


बिदेश घुम्न गएका जापानीहरुले फर्कंदा चामल ल्याउन थाले, यस्तो छ कारण

  POSTED ON : Saturday, 26 April, 2025 | Views : 1084

बिदेश घुम्न गएका जापानीहरुले फर्कंदा चामल ल्याउन थाले, यस्तो छ कारण


टोकियो, जापान ।

बिदेश घुम्न गएकाहरुले फर्कंदा ल्याउने कोसेलीहरु के के हुन्छ होला ? तपाईंको सहज उत्तर हुनसक्छ मिठाई, ब्राण्डेड नयाँ कपडा वा सामग्री, सौन्दर्यका सामान, ईलेक्ट्रिक उपकरण, ब्राण्डेड रक्सिहरु यस्तै यस्तै । तर तपाईंलाई सुन्दा अचम्म लाग्न सक्छ केहि महिना यता बिदेश घुम्न गइरहेका जापानीहरुले स्वदेश फर्कंदा चामल बोकेर ल्याउन थालेका छन् ।

अचम्म नमान्नुहोला यो सत्य समाचार हो । जापानकै ईमिग्रेसले बताए अनुसार देशमा प्रमुख खाद्य पदार्थ चामलको बढ्दो मूल्यका बीच हालै विदेश जाने जापानीहरूले फर्कंदा चामल बोकेर आउन थालेका छन् ।

जापानमा विदेशी चामल ल्याउन चेकजाँच प्रमाणपत्र आवश्यक पर्ने भन्दै प्लान्ट क्वारेन्टाइन अधिकारीहरूले मानिसहरूलाई आफुखुसी बिदेशी मामल बोकेर नआउन सचेत गराएका छन् ।

कृषि मन्त्रालयले गरेको सर्वेक्षणमा अप्रिल १३ सम्मको हप्ता दिनमा ५ किलोग्राम चामलको झोलाको औसत मूल्य जापानमा ४,२१७ येन रहेको बताएको छ । जुन मूल्य अघिल्लो वर्षको तुलनामा दोब्बर भन्दा बढी हो ।

टोकियो नजिकैको नारिता विमानस्थलका क्वारेन्टाइन अधिकारीहरूले भारत र थाइल्याण्ड जस्ता एसियाली देशहरूमा जाने जापानी यात्रीहरूको संख्या बढ्दै गएको र गत वर्षको गर्मीपछि ति देश घुम्न गएका जापानीहरु वा ति देशका नागरिकहरुले फर्कंदा जापानमा चामल ल्याउन थालेका छन् ।

ईमिग्रेसन अधिकारीहरुले यस वर्षको मार्चपछि यस्ता घटनाहरुमा बृद्धि पाइएको बताएका छन् ।

दक्षिण कोरियाबाट चामल ल्याउने मानिसहरूको संख्या पनि हालै बढ्दै गएको छ । धेरैले ५ किलोग्राम देखि १० किलोग्राम चामल बोकेर ल्याएको पाइएको छ ।

जापानको नियमानुसार व्यक्तिहरूले जापानमा पोलिस गरिएको चामल आयात गर्न चाहन्छन् भने उनीहरूले निर्यातकर्ता देशहरूको सरकारी संस्थाहरूबाट जारी गरिएको अग्रिम गुणस्तर प्रमाणपत्र प्राप्त गर्नुपर्छ र प्रवेश गर्दा चामलको निरीक्षण गराउनुपर्छ ।

अप्रिल २६ देखि सुरु हुने वसन्त बिदाको अवधिमा ठूलो संख्यामा मानिसहरू विदेश यात्रामा जाने अपेक्षा गरिएको छ । नारिता विमानस्थलमा रहेको प्लान्ट क्वारेन्टाइन केन्द्रका एक अधिकारीले विदेश यात्रा गर्ने मानिसहरूलाई जापानमा चामल ल्याउने योजना छ भने प्रमाणपत्र लिएर मात्र ल्याउन आग्रह गरेका छन् ।

यदि बिना प्रमाणपत्र चामल बोकेर आएको पाइएमा जफत वा क्वारेन्टाइन नियम उल्लंघनको मुद्दामा जरिवाना वा बिदेशीको हकमा कसुर हेरेर उनिहरुकै देश फिर्ता देखि जेल र जरिवाना दुवै समेत हुनसक्छ ।