(Japan) 17 th May | 2025 | Saturday | 6:48:58 PM || (Nepal) 3:33:58 PM
 
 


नीजि गाडिमा नियमबिपरित पैसा लिएर यात्रु ओसारपसार गरेको आरोपमा नेपाली पक्राउ

  POSTED ON : Wednesday, 23 April, 2025 | Views : 2896

नीजि गाडिमा नियमबिपरित पैसा लिएर यात्रु ओसारपसार गरेको आरोपमा नेपाली पक्राउ


क्योतो, जापान ।

व्यक्तिगत प्रयोजनको सेतो नम्वर प्लेटको गाडिमा पैसा लिएर ट्याक्सि सेवा उपलब्ध गराएर पर्यटकलाई घुमाएको आरोपमा जापानमा एक नेपाली पुरुष पक्राउ परेका छन् ।

अप्रिल २२ मा, क्योतो शहरमा एक नेपाली पुरुषलाई अवैध ट्याक्सी चलाएको आरोपमा पक्राउ गरिएको प्रहरीले बताएको हो ।

सडक यातायात ऐन उल्लङ्घन गरेको आशंकामा पक्राउ परेका संदिग्ध व्यक्ति ओसाका प्रिफेक्चरको तोयोनाका शहरका नेपाली रेस्टुरेन्ट मालिक ४५ बर्षिय राम प्रसाद गैरे रहेको जापानी समाचार संस्थाहरुले समाचार प्रकाशित गरेका छन् ।

प्रहरीका अनुसार, अप्रिल २२ मा गैरेले अनुमति बिना ट्याक्सी चलाएका थिए । क्योतो शहरको फुशिमी वार्ड भित्र दुई अमेरिकी यात्रुहरू, एक पुरुष र एक महिलालाई चढाएर घुमाएको आरोप उनिमाथि छ ।

सेतो लाइसेन्स प्लेट भएको गाडीमा धेरै विदेशीहरू सवार रहेको जानकारी पाएपछि, प्रहरीले सोही दिन क्योतो शहरको पर्यटकीय स्थल फुशिमी इनारी ताइशा तीर्थस्थलमा पार्किङ स्थलबाट बाहिर निस्कने क्रममा यात्रुलाई रोकेर सोधपुछ गरेको थियो ।

प्रहरीले यात्रुको स्मार्टफोन जाँच गर्दा उनीहरूले जापान आउनुअघि कार्डबाट यातायात खर्चको लागि भन्दै करिव ७०,००० येन तिरेको पत्ता लगाएको छ ।

प्रहरी सोधपुछको क्रममा गैरेले आरोप स्वीकार गर्दै आफुले पैसा लिने उद्देश्यले यात्रुहरूलाई सवारी गराएको बताएका छन् ।

ओसाका कान्साई एक्स्पोका कारण जापानमा विदेशी आगन्तुकहरूको संख्या बढ्ने अपेक्षा गरिएको छ । जसले गर्दा लाइसेन्स बिनाको ट्याक्सी सञ्चालनमा वृद्धि हुन सक्ने भएकाले प्रहरीले अवस्थालाई नजिकबाट नियाल्दै चेकजाँच र अवस्था नियालीरहेको बताएको छ ।