(Japan) 26 th April | 2025 | Saturday | 10:16:29 PM || (Nepal) 7:01:29 PM
 
 


सापटी पैसा नतिर्दा ! टोकियोमा भिडियो लाइभ गर्दै महिलालाई ३० पटक भन्दा बढी छुरा प्रहार

  POSTED ON : Friday, 14 March, 2025 | Views : 3142

सापटी पैसा नतिर्दा ! टोकियोमा भिडियो लाइभ गर्दै महिलालाई ३० पटक भन्दा बढी छुरा प्रहार


टोकियो, जापान ।

राजधानी टोकियो शहरको सडकमा सामाजिक सञ्जालमा लाइभ स्ट्रिमिङ गर्दै मारिएकी युवतीमाथि ३० भन्दा बढी पटक छुरा प्रहार गरिएको प्रहरीले बुधबार बताएको छ । आक्रमणकारीले हत्या गरिएकी युवतीप्रति कडा द्वेष राखेको प्रहरीको भनाई छ ।

प्रहरीले ४२ वर्षीय संदिग्ध केनिची ताकानोले आफूले उक्त युवतीको लागि आफ्नो बचत खर्च गरेको र महिलालाई लाखौं येन ऋण दिन अरुबाट ऋण लिएको बताएको जनाएको छ । उनीहरू आर्थिक विवादमा फसेको विश्वास गरिन्छ ।

मंगलबार बिहान, २२ वर्षीया ऐरी सातोलाई टोकियोको सबैभन्दा व्यस्त वार्डहरू मध्ये एक शिन्जुकुको आवासीय क्षेत्रमा एक्लै हिंडिरहेको बेला ताकानोले अचानक आक्रमण गरेको प्रहरीले जनाएको छ। उनको घाँटी र छातीमा चोट लागेको थियो ।

ताकानोले दुई देखि तीन महिना अघि घटनामा प्रयोग गरिएको भाँचेर राख्न मिल्ने चक्कु किनेको र उनले यसलाई तोचिगी प्रान्तको ओयामामा रहेको आफ्नो घरबाट ताकादानोबाबा जिल्लामा ल्याएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनलाई उद्धृत गर्दै भनेको छ उनले मंगलबारको घटना हुनुभन्दा अगाडि युवतिले लाइभ स्ट्रिम गरिरहेको भिडियो हेरेर उनको स्थान पत्ता लगाएका थिए । उनले प्रहरीलाई युवतिले स्ट्रिमिङबाट पैसा कमाउँदै गर्दा आफ्नो पैसा तिर्न अस्विकार गरेको बताएका छन् ।

प्रहरीका अनुसार, ताकानोले फेब्रुअरी २०२१ मा उनको स्ट्रिमहरू मार्फत सातोको बारेमा थाहा पाएका थिए । अगस्ट २०२२ तिर, उनी काम गर्ने एउटा भोजनालयमा बारम्बार जान थाले र पछि उनले जीवनयापन खर्च तिर्न संघर्ष गरिरहेको दाबी गरेपछि उनलाई पैसा सापटी दिन थालेका थिए ।

ताकानोले २०२३ मा सातोलाई फिर्ता नगरिएको रकमको लागि मुद्दा दायर गरेका थिए । केस रेकर्डहरूले देखाएको छ कि उनले तर्क सेप्टेम्बर देखि नोभेम्बर २०२२ सम्म १० पटकमा उनलाई कुल २५ लाख ४० हजार येन सापट दिएका थिए । फैसलाले उनलाई ताकानोलाई २५ लाख येन तिर्न आदेश दिएको थियो ।

यद्यपि, जनवरी २०२४ मा, उनले तोचिगी प्रान्तमा प्रहरीसँग परामर्श गर्दा पैसा तिर्न भएको आदेशपछि युवति बेपत्ता भएको प्रहरीले बताएको थियो । त्यसयता ताकानोले युवतीको खोजि गर्दै आएको बताएका छन् ।