(Japan) 17 th February | 2025 | Monday | 11:00:30 AM || (Nepal) 7:45:30 AM
 
 


जापानमा रेलको ठक्करबाट नेपाली पुरुषको निधन

  POSTED ON : Friday, 31 January, 2025 | Views : 7712

जापानमा रेलको ठक्करबाट नेपाली पुरुषको निधन


टोकियो, जापान ।

जनवरी २८ तारिख टोकियोमा रेलको ठक्करबाट एकजना नेपाली पुरुषको निधन भएकै दिन नागोयामा एक नेपाली विद्यार्थीको गाडिको ठक्करले ज्यान गएको थियो । तर नागोयामा निधन भएका नेपाली विद्यार्थीको विवरणहरु सार्वजनिक भएपनि टोकियोमा रेलले ठक्कर दिंदा निधन भएका व्यक्तिको बारेमा नेपाली समुदायका धेरैले घटनाबारे जानकार भएर पनि दुई दिनसम्म गुमनाम जस्तै बनाए वा भनौ मौन रहे ।

बिहिबार भने बल्ल धेरैले जापानमा अग्रज नेपालीहरु तथा व्यवसायका क्षेत्रमा परिचित जस्तै रहेका मेघराज नेपालको निधनबारे अस्पष्ट जानकारी सहित समवेदना व्यक्त गरेको पाइएको छ ।

जापानलाई ३ दशकदेखी कर्मथलो बनाएर आएका, जापानको पहिलो नेपाली स्कुल एभरेष्ट स्कुलको संचालक समितिका उपाध्यक्ष रहेका नेपालको मंगलबार अकल्पनिय निधन सबैको लागि अपत्यारिलो थियो नै । तर राम्रो भन्दा नराम्रो खवर छिटो फैलन्छ भनेजस्तै बुधवार बिहानसम्म निधन भएका नेपाल निकट सबैले थाहा पाइसकेका थिए ।

जापानी संचार माध्यममा आएको समाचारको आधारमा भन्ने हो भने नेपालको टोकियोमा रेल 'दुर्घटनामा नभई' 'ठक्करबाट' निधन भएको हो ।

याहु समाचार संस्थामा प्रकाशित समाचारमा उल्लेख भए अनुसार जनवरी २८ तारिख बिहान जेआर केइहिन तोहोकु लाइनको तामाची स्टेशनमा रेलले ठक्कर दिँदा नेपालको निधन भएको थियो । टोकियो महानगरीय प्रहरी विभागका अनुसार दुर्घटना बिहान करिव १०ः४० बजे टोकियोको मिनातो वार्डको जेआर तामाची स्टेशनमा ओमियाबाट कामाता जाँदै गरेको केइहिन९तोहोकु लाइनको द्रुत गतिको रेलले ठक्कर दिएको हो ।

मृतक नेपालकी धर्मपत्नी प्रभा नेपालले दुखद घटना बारेमा सामाजिक सञ्जालमा लेखेपछि मात्र मौन रहँदै आएका निकटहरुले समवेदना व्यक्त गरेका थिए । प्रभा नेपालका अनुसार पनि घटना बिहान १०:४० बजे भएको थियो । आकस्मिक दुर्घटनामापरि निधन भएको उल्लेख गरेपनि दुर्घटना कसरी हुन पुग्यो भन्ने बारे केहि उल्लेख छैन ।

विद्यालय, रेष्टुरेन्ट, रेमिटयान्स, मानव संशाधन लगायत विभिन्न व्यवसायमा संलग्न नेपाल तिब्रगतिको रेल अगाडी जाँदा ठक्कर दिएको र उनको घटनास्थलमानै निधन भएको बुझिएको छ ।

उक्त घटनाका कारण जेआर केइहिन तोहोकु लाइनको तामाची स्टेशन भएर चल्ने रेलसेवा करिव सवा घण्टा अवरुद्ध हुँदा करिव ४३ हजार यात्रु प्रभावित भएको जापानी संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।