टोकियो, जापान ।
प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नु अघिसम्म चुरोट पिउनको लागि समय निकाल्नु शिगेरु इशिबाका लागि कहिल्यै गाह्रो भएको थिएन । तर जब उनले फुमियो किशिदाको उत्तराधिकारीको रुपमा जापानी प्रधानमन्त्रीको रुपमा जिम्मेवारी निभाउन थालेका छन् अत्यधिक धूम्रपान गर्ने व्यक्ति भनेर उनका नजिककाहरुले बताउने गरेका इशिबालाई अहिले एक खिल्लि चुरोट पिउने समय मिलाउन हम्मेहम्मे पर्न थालेको छ ।
अक्टोबरमा जापानको प्रधानमन्त्री बनेदेखि इशिबाको अत्यन्तै व्यस्त तालिकाले उनलाई अब दिनमा धेरै कम पटक मात्र चुरोट पिउन समय मिल्न थालेको छ । उनले यतिसम्म भनेका छन् कि 'भनेको समयमा चुरोट पिउन नपाउन थालेपछि उनले धूम्रपान पूर्ण रूपमा छोड्न सक्ने' बताएका छन् ।
गत महिना, इशिबाले संसदीय सत्रमा आफ्नो लामो समयदेखिको धूम्रपान गर्ने बानी त्याग्न 'अलिकति बढी' समय चाहिने बताए । उनले वरपर मानिसहरू भएको ठाउँमा धूम्रपान कहिल्नै नगरेको समेत बताएका छन् ।
सुर्तीजन्य पदार्थप्रतिको उनको प्रेम यति धेरै छ कि मदिरा सेवन गर्ने इशिबाले एक पटक आफ्नो वरपरका मानिसहरूलाई भनेका थिए कि यदि उनलाई धूम्रपान वा मदिरा सेवन त्याग्न भनियो भने उनले मदिरा पिउने भन्ने बताएका थिए ।
जापानको शीर्ष नेताको रूपमा आफ्नो पद ग्रहण गर्नु अघि, उनी प्रायः डाइट भवनमा धूम्रपान गर्ने लाउन्जमा बारम्बार जाने गर्दथे । त्यहाँ उनको आफ्नै कुर्सी छ भन्ने हल्ला पनि हुने गर्दथ्यो ।
यद्यपि, प्रधानमन्त्रीको लागि आफ्नै घरमा धूम्रपान गर्नु ठूलो कुरा जस्तो देखिन्छ । उनकी श्रीमती योशिको धूम्रपान नगर्ने व्यक्ति हुन् र प्रधानमन्त्रीले आफुलाई घरमा धुम्रपान गर्न अनुमति नरहेको बताएका छन् ।
हालैका वर्षहरूमा धूम्रपान गर्नेहरूमाथि गहन निगरानी भइरहेको छ, जसमा २०२० मा संशोधित स्वास्थ्य प्रवर्द्धन कानून जस्ता नयाँ नियमहरु लागू भएका छन् । कानूनले जापानका सरकारी भवनहरू र अन्य ठाउँहरूमा मानिसहरूलाई धूम्रपान गर्न निषेध गरेको छ ।
प्रधानमन्त्रीको कार्यालयमा धूम्रपान निषेध गरिएको हुनाले, इशिबाले अब बैठकहरूमा केही मिठाई खाने प्रयास गर्ने उनका नजिकका श्रोतहरुले बताएका छन् ।
तर बानीहरू सजिलै परिवर्तन गर्न नसकिने भएकाले प्रधानमन्त्रीले धूम्रपान छोड्न समय लाग्ने बताउने गरेका छन् ।