(Japan) 17 th February | 2025 | Monday | 11:15:57 AM || (Nepal) 8:00:57 AM
 
 


रुससँग युद्ध रोकेर शान्ति वार्ता गर्न चाहने युक्रेनीहरुको संख्यामा उल्लेख्य बृद्धि सर्वेक्षण

  POSTED ON : Monday, 13 January, 2025 | Views : 358

रुससँग युद्ध रोकेर शान्ति वार्ता गर्न चाहने युक्रेनीहरुको संख्यामा उल्लेख्य बृद्धि सर्वेक्षण


एजेन्सी ।

युक्रेनी विश्वविद्यालयले गरेको एक सर्वेक्षणले केवल ५७ प्रतिशत युक्रेनीहरूमात्र आवश्यक परेसम्म रूससँगको द्वन्द्व सहन तयार देखिएका छन् । यो संख्या हेर्दा अझै धेरै जस्तो लागेपनि एक वर्ष अघिको तथ्याङ्कभन्दा १६ प्रतिशतले कम हो ।

रुस र युक्रेनबिच तीन बर्ष यता युद्ध चलिरहेको छ ।

युक्रेनको राजधानीमा रहेको किएभ इन्टरनेशनल इन्स्टिच्युट अफ सोसियोलोजीले गत महिना सर्वेक्षण गरेको थियो ।

युद्ध कति समय सहन तयार छन् भनेर भन्न गाह्रो छ भन्ने जवाफ दिनेहरूको संख्या ११ प्रतिशतले बढेर १८ प्रतिशत पुगेको छ ।

संस्थानका कार्यकारी निर्देशक एन्टोन ह्रुशेत्स्कीले सबैभन्दा महत्त्वपूर्ण तथ्य युद्धको अग्रपंक्तिको अवस्था खराब हुनु भएको बताएका छन् ।

उनले युक्रेनीहरूले पूर्वमा क्षेत्रहरू गुमाइरहेको देखेको र यसले जनताको मनोभाव र विचारलाई असर गरेको बताएका छन् । उनले धेरै मानिसहरूले लडाईं रोक्नु र केही शान्ति सम्झौतामा हस्ताक्षर गर्नु राम्रो हो भनेर सोच्न थालेको बताए ।

रुससँगको युद्धमा युक्रेनले गत वर्ष मात्र डोनेट्स्क र खार्किभका पूर्वी क्षेत्रहरू सहित ३,६०० वर्ग किलोमिटरभन्दा बढी जमिन गुमाएको छ । स्थानीय अधिकारीहरूले राजधानी कीभमा विस्थापित हुनेहरूको संख्या एक वर्षमा ११,००० बढेको बताएका छन् ।

डोनेट्स्क र अन्य ठाउँहरूबाट विस्थापितहरूलाई सहयोग गर्ने कीभको एक आश्रय केन्द्रमा रहेका मानिसहरूले रूसी आक्रमण चाँडै समाप्त हुने आशा व्यक्त गरेका छन् ।

रुससँगको युद्धका क्रममा युक्रेनी क्षेत्रबाट विस्थापित भएका तथा रुसी कब्जामा पुगेको क्षेत्रबाट भागेक युक्रेनीहरुले आफ्नो घर गुमाउनु परेको, साथिहरु र अन्य धेरै नजिकका मान्छेको निधन भएको देखेको भन्दै जतिसक्दो छिटो लडाईं रोकिने र शान्ति स्थापना भएर आफुहरु पहिलेकै स्थानमा फर्कन पाउने आशा व्यक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुले नेतृत्व सम्हालेपछि २४ घण्टामा रुस युक्रेन युद्ध रोक्ने बताउँदै आएका छन् ।

शपथ लगत्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ताको तयारी गरिरहेको बताएका ट्रम्पले पछिल्लो पटक बढिमा ६ महिना भित्रमा युक्रेन र रुस बिचको युद्ध समाप्त हुने बताएका छन् ।