टोकियो, जापान ।
दक्षिणपश्चिम जापानको एक एयरपोर्टको रनवे बुधबार साँझ बिहानको विस्फोट पछि अवरुद्ध भएकोमा पुनः संचालनमा आएको छ । बम विस्फेटबाट ट्याक्सीवेको एक भाग क्षतिग्रस्त बन्न पुगेको थियो । यद्यपी कोही पनि घाइते भने भएका थिएनन ।
जापानको सेल्फ डिफेन्स फोर्स र घटनास्थलमा अनुसन्धान गरिरहेका अन्यले विस्फोट नगरिएको बम विस्फोट भएको पत्ता लगाएका छन् । बम २५० किलोग्रामको भएको बताइएको छ । दोस्रो विश्वयुद्धको समयमा अमेरिकी सेनाले खसालेको बम भएको पत्ता लागेको छ ।
मियाजाकी विमानस्थलमा रहेको यातायात मन्त्रालयको कार्यालयले बुधबार बिहान ८ बजेभन्दा केही समय अगाडि ट्याक्सीवेमा विस्फोटको आवाज सुनिएको बताएको छ । एयर ट्राफिक नियन्त्रकहरूले घटनास्थलबाट धुवाँ उठेको देखेका थिए ।
विमानस्थलको छेउमा रहेको सिभिल एभिएसन कलेजमा जडान गरिएको क्यामराबाट खिचिएको तस्बिरमा ट्याक्सीवेको सतह एक्कासी उडेको देखिन्छ । विस्फोटले फुटपाथका टुक्राहरू र धुलोको बादल हावामा उडाएको थियो ।
विष्फोटबाट बनाइएको प्वाल अण्डाकार आकारको, ७ मिटर लामो र ४ मिटर चौडा र करिब एक मिटर गहिरो रहेको विमानस्थल कार्यालयले जनाएको छ ।
एयरलाइन्सले मियाजाकी विमानस्थलबाट आउने र जाने ८० भन्दा बढी उडान रद्द गरेको थियो ।
विष्फोट हुनु केही मिनेटअघि ९३ जना यात्रु बोकेको जापान एयरलाइन्सको यात्रुवाहक विमान ट्याक्सीवे हुँदै धावनमार्गबाट उडेको थियो ।
दोस्रो विश्वयुद्धमा अमेरिकी सेनाले खसालेका विस्फोट नभएका बमहरू प्रायः विमानस्थलमा भेटिएका छन् ।