(Japan) 4 th October | 2024 | Friday | 7:08:49 AM || (Nepal) 3:53:49 AM
 
 


इशिबा नेतृत्वमा एलडिपी नयाँ नेतृत्व चयन, आम चुनाव अक्टोबर २७ मा हुने

  POSTED ON : Monday, 30 September, 2024 | Views : 320

इशिबा नेतृत्वमा एलडिपी नयाँ नेतृत्व चयन, आम चुनाव अक्टोबर २७ मा हुने


टोकियो, जापान ।

जापानको सत्ताधारी दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी)को अध्यक्षमा निर्वाचीत भएका शिगेरु इशिबाले आफ्नो नयाँ पार्टिका नेताहरुको रोलक्रम तय गरेका छन् ।

मंगलबार औपचारिक रुपमा प्रधानमन्त्री पद सम्हाल्ने तयारी गरेका इशिबाले  पूर्व प्रधानमन्त्री सुगा योशिहिदेलाई एलडीपीको उपाध्यक्षमा नियुक्त गरेका छन् ।

उपाध्यक्ष रहेका आसो तारो पार्टीको शीर्ष सल्लाहकार बनेका छन् ।

इसिबाले महासभाका पूर्व अध्यक्ष मोरियामा हिरोशीलाई एलडिपीको महासचिवमा नियुक्त गरेका छन् । अर्थमन्त्री सुजुकी शुनिची महासभाको नयाँ अध्यक्ष हुने भएका छन् ।

पूर्व रक्षामन्त्री ओनोदेरा इत्सुनोरी नीति अनुसन्धान परिषद्को अध्यक्ष र पूर्व वातावरणमन्त्री कोइजुमी सिन्जिरो निर्वाचन रणनीति समितिको अध्यक्षमा नियुक्त भएका छन् ।

कृषि मन्त्री साकामोतो तेत्सुशी आहार मामिला समितिको नयाँ अध्यक्ष हुने भएका छन् । महासभाका पूर्व अध्यक्ष फुकुदा तात्सुओ कार्यकारी कार्यवाहक महासचिव बनेका छन् ।

निर्वाचन रणनीति समितिको अध्यक्षको जिम्मेवारी सम्हालेका ओबुची युकोलाई पार्टी सङ्गठन तथा अभियान मुख्यालयको अध्यक्षमा नियुक्त गरिएको छ ।

पूर्व डिजिटल मन्त्री हिराई ताकुयालाई जनसम्पर्क मुख्यालयको अध्यक्ष कायम गरिएको छ ।

इशिबाले सोमबार एलडीपी अध्यक्षमा बिजयी भएपछि आफू जनताको विश्वास जितेर काम गर्ने, साहस र इमानदारीका जिम्मेवारी पुरा गर्ने बताएका छन् । उनले जापानलाई फेरि एकपटक सबैले मुस्कुराएर बस्न पाउने ठाउँ बनाउन आफूलाई समर्पित गर्ने बताएका छन् ।

मङ्गलबार डाइटको दुवै कक्षमा जापानको १०२औँ प्रधानमन्त्रीका रूपमा निर्वाचित भएपछि इसिबाले आफ्नो नयाँ मन्त्रिपरिषद् गठन गर्नेछन् । उनको क्याबिनेट मन्त्रीहरूको नाम समेत अधिकांश तय भएको भन्दै जापानी समाचार संस्थाहरुले विवरण प्रकाशित गरेका छन् ।

इशिबाले प्रधानमन्त्री पद सम्हालेपछि हालको संसद भंग गर्ने तयारी गरेका छन् । उनले प्रधानमन्त्री कार्यालय सम्हालेपछि अक्टोबर १५ मा संसद बोलाउने र अक्टोबर २७ बाट आम चुनाव घोषणा गर्ने बताइएको छ ।