(Japan) 13 th December | 2024 | Friday | 1:26:56 AM || (Nepal) 10:11:56 PM
 
 


जापानका चर्चित फुटबलर होण्डा नेपालमा एएफसी च्यालेन्जकप खेल्न जाँदै

  POSTED ON : Thursday, 01 August, 2024 | Views : 1196

जापानका चर्चित फुटबलर होण्डा नेपालमा एएफसी च्यालेन्जकप खेल्न जाँदै


टोकियो, जापान ।

जापानका चिरपरिचित चर्चित फुटबलर केइसुके होण्डा नेपाल फुटबल खेलका लागि जाने भएका छन् । होण्डालाई अनुबन्ध गरेको भुटानको पारो क्लबले एएफसी च्यालेन्ज कपको प्ले अफमा नेपालको लिग विजेता चर्च ब्वाइजविरुद्ध खेलाउन २९ साउनमा दशरथ रंगशालामा मैदानमा उतार्ने तयारी गरेको छ ।

एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणमा सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र भुटानको लिग च्याम्पियन पारो एफसीबीच दशरथ रंगशालामा २९ साउनमा खेल हुँदै छ । 

प्ले–अफ खेलक लागि भुटानको पारोले विश्वकप खेलिसकेका होन्डालाई अनुबन्ध गरेको हो । पारोले आफ्नो अफिसियल फेसबुक पेजमा होन्डालाई अनुबन्ध गरेको जनाएको छ । 

सन् २००८ देखि २०१८ सम्म होन्डाले जापानको राष्ट्रिय फुटबल टोलीमा आबद्ध थिए । उनले इटलीको चर्चित क्लब एसी मिलान, रसियन क्लब सिएसकेए मस्कोजस्ता क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए । जापानबाट ९८ अन्तर्राष्ट्रिय खेलमा उनले ३७ गोल गरेका छन् । राष्ट्रिय टोलीबाट सन्न्यास लिएपछि उनले कम्बोडियाको राष्ट्रिय टोली र यू–२३ को प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । 

भुटानी क्लबले जापानिज खेलाडीको आगमनले एसियन फुटबलको उच्चस्तरमा प्रतिस्पर्धा गर्नका लागि क्लबलाई सहयोग पुग्ने विश्वास लिएको छ । पारोले विलियम ओपोकु, जापानको कोकी नारितालाई पनि क्लबमा अनुबन्ध गरेको छ ।

पारोले एक दर्जन विदेशी खेलाडी अनुबन्ध गरेको छ । गत सिजन नेपाल सुपर लिगमा एफसी चितवनबाट खेलेका डिफेन्डर मार्को इभानोभिच र वीरगन्ज युनाइटेडबाट खेलेका मिडफिल्डर विलियम ओपोकु पनि पारोमा छन् । भुटानका राष्ट्रिय टोलीका खेलाडी समेत रहेको टोलीको प्रशिक्षकमा पुष्पलाल शर्मा छन् । 

प्ले–अफ जित्ने टोलीले एक लाख अमेरिकी डलर प्राप्त गर्नेछ । एसियाली फुटबल महासंघ ९एएफसी०ले बिहीबार एएफसी क्लब प्रतियोगिता संरचनाको परिमार्जित भागको रूपमा प्रतियोगिताको घोषणा गरेको थियो । प्रतियोगिताको समूह चरणमा १८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।