सेन्दाई, जापान ।
जापानी अर्बपति उद्यमी युसाकु माइजावा उत्तरपूर्वी जापानमा मोटर रेसिङ दुर्घटनापछि घाइते भएका छन् । घाइते भएका माइजावालाई आइतबार अस्पताल लगिएको र उपचार जारी रहेको बताइएको छ ।
प्रमुख अनलाइन फेसन रिटेलर जोजो इंकका संस्थापक ४८ बर्षिय माइजावाको उपचार जारी रहेको भएपनि अवस्था खतरामुक्त रहेको समाचारहरुमा उल्लेख छ ।
उनले आफ्नो एक्स खातामा लेमियागी प्रिफेक्चरको मुरातामा रहेको स्पोर्टस्ल्याण्ड सुगोमा मोटरस्पोर्ट स्थलमा फेरारी च्यालेन्ज जापान दौडमा फाइनल लाइनमा पुग्ने लक्ष्य राखेको र सो क्रममा दुर्घटना भएको बताएका छन् ।
दुर्घटनामा परेका अर्का व्यक्ति पनि अस्पताल भर्ना भएको बताइन्छ ।
माएजावाले भर्खरै चन्द्रमाको परिक्रमा गर्न आफ्नो निजी अन्तरिक्ष यात्रा रद्द गर्ने निर्णय गरेको घोषणा गरेर चर्चामा आएका थिए ।
उनले गत वर्षको अन्त्यसम्ममा अमेरिकी डीजे स्टिभ आओकी लगायत अन्य चालक दलका सदस्यहरूसँग अन्तरिक्ष यात्रामा जाने घोषणा गरेका थिए । तर जुन १ तारिख डियर मुन परियोजना रद्द गरिएको घोषणा गरिएको थियो ।