(Japan) 4 th November | 2024 | Monday | 8:45:03 AM || (Nepal) 5:30:03 AM
 
 


हजारौं जाइर्यु कार्ड र माई नम्बर कार्ड नक्कली बनाएको अभियोगमा दुई चिनियाँ पक्राउ

  POSTED ON : Wednesday, 15 May, 2024 | Views : 914

हजारौं जाइर्यु कार्ड र माई नम्बर कार्ड नक्कली बनाएको अभियोगमा दुई चिनियाँ पक्राउ


टोकियो, जापान ।

टोकियो महानगरीय प्रहरी विभागले चिबा प्रिफेक्चरमा माई नम्बर कार्ड र जापानमा बस्ने विदेशीहरूलाई जारी गरिएको आवासीय परिचयपत्र जाइर्यु कार्ड नक्कली बनाउने गरेको पर्दाफास गरेको छ । यसमा संलग्न दुई चिनियाँ संदिग्धलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

जफत गरिएका कम्प्युटरहरूमा दुई हजारभन्दा बढी व्यक्तिको डाटा फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा २८ वर्षीय पेङ लेले र ४१ वर्षीय लु चेङ्लोङ छन्, दुवै चिनियाँ नागरिक रहेका छन् ।

महानगरीय प्रहरी विभागका अनुसार ती दुई जनालाई गत महिनाको अन्त्यतिर चिबा प्रान्तको फुनाबाशी शहरको एउटा अपार्टमेन्टमा कम्प्युटर र प्रिन्टर प्रयोग गरी ६ माई नम्बर कार्ड र ३६ वटा रेसिडेन्स कार्ड नक्कली बनाएके र छाप लगाइएका आधिकारिक कागजातहरू किर्ते गरेको अभियोग लगाइएको थियो । उनिहरुले अध्यागमन नियन्त्रण ऐन उल्लंघन गरेको आरोप छ ।

नक्कली माई नम्बर कार्डमा आईसि चिप जस्तो राखिएपनि त्यसमा कुनै विशेष प्रशोधन नगरिएको, तर यसलाई सहज पहिचान गर्न गाह्रो हुने बताइएको छ ।

हालसम्मको अनुसन्धान अनुसार शंकास्पद व्यक्तिले निर्देशनमा जिम्मेवार मानिने चीनका एक व्यक्तिबाट दैनिक १४ हजार येन पारिश्रमिक लिएर करिब ३० देखि ६० वना नक्कली कार्ड तयार गरि तोकिएको स्थानमा पठाएको ठानिएको छ ।

अपार्टमेन्ट खोजीका क्रममा बरामद गरिएका कम्प्युटरहरूमा २,००० भन्दा बढी व्यक्तिको डाटा फेला परेको छ । महानगरीय प्रहरी विभागले विदेशी आपराधिक समूहको संलग्नता हुनसक्ने सम्भावनाको अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानको जवाफमा, संदिग्ध पेंगले आरोपहरू अस्वीकार गरेका छन्, र संदिग्ध लुले आंशिक रूपमा आरोपहरू अस्वीकार गरेको प्रहरीले बताएको छ ।

उनिहरुसँग रहेको कम्प्युटरमा विभिन्न देशका नागरिकहरुको विवरण रहेको बताइएको छ ।