टोकियो, जापान ।
जापानको फुकुई प्रान्तमा एक नेपाली युवाको समुन्द्रमा डुबेर असामयिक निधन भएको छ ।
प्राप्त जानकारी अनुसार जापान भ्रमणमा रहनुभएका काका, काकीलाई घुमाउन फुकुई पुगेका पोखरा लामाचौरका प्रेम नारायण आचार्यको शुक्रबार समुन्द्रमा डुबेर निधन भएको हो ।
जापान करिव ६ बर्षअघि विद्यार्थी भिषामा आएका करिब २८ बर्षका प्रेम माज्दा मोटर कम्पनिमा कार्यरत थिए । बिदाको समय मिलाएर प्रेमले गिफुबाट फुकुई समुन्द्र घुमाउन काका काकीलाई लिएर गएका थिए ।
गिफुमै बस्दै आएका ठुलो बाबाको छोरा बुहारी र नातानातिनी भेटन आएका काका र काकीलाई घुमाउन प्रेमले फुकुईको सामुन्द्रिक तट लगेका थिए ।
समुन्द्र तटमा गाडी पार्किङ गरेर भलिवल लिएर पौडि खेल्न समुन्द्रमा पसेका प्रेमले त्यसको भिडियो समेत काकीलाई खिच्न लगाएका थिए । पौडि खेल्ने क्रममा समुन्द्रको छालले प्रेमलाई बिचभागतिर पुर्याउँदै बगाएको थियो ।
प्रेमलाई बगाएपछि भिडियोको सहाराले काका काकीले नजिकै रहेका जापानीहरुसँग गुहार मागेका थिए । समुन्द्रले बगाउँदै गर्दा सहयोग मागिरहेका प्रेमको भिडियो त कैद भयो तर समयमै उनको उद्दार हुन सकेन ।
करिव २० मिनेटको अन्तरालमा प्रेमलाई हेलिकोप्टरको मद्दतले समुन्द्रबाट उद्दार गरिएको थियो । तर त्यतिखेर समय ढिलो भइसकेको थियो ।
आचार्यको शवलाई आईतबार फुकुईबाट गिफु लगिने र परिवारको चाहना अनुरुप नेपाल वा जापानमै दाह संस्कार गरिने भएको छ ।