(Japan) 15 th January | 2025 | Wednesday | 5:26:48 PM || (Nepal) 2:11:48 PM
 
 


जापानमा दुई नेपाली (दाजुभाई) नेपालको नक्कली लाईसेन्स बनाउन सघाएको आरोपमा पक्राउ

  POSTED ON : Thursday, 28 February, 2019 | Views : 14769

जापानमा दुई नेपाली (दाजुभाई) नेपालको नक्कली लाईसेन्स बनाउन सघाएको आरोपमा पक्राउ


टोकियो ।

नेपालको नक्कली लाईसेन्स बनाईदिएर जापानको लाईसेन्स लिन सघाएको आरोपमा जापान प्रहरीले दुईजना नेपालीलाई पक्राउ गरेको छ ।

राजधानी टोकियोमा रेष्टुरेण्ट सहित विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका पुस्कर थापा र उनका भाई अशोक थापालाई टोकियो महानगरिय प्रहरीले पक्राउ गरेको हो ।

जापानी समाचार संस्था टिबिएस न्युजमा प्रशारित समाचार अनुसार नेपालको ड्राइभिङ अनुभवनै नभएकाहरुलाई नेपालको सवारी चालक अनुमतिपत्र बनाउन सघाएको लगायत आधा दर्जन आरोप थापा दाजुभाईमाथि छ ।

नेपालको लाईसेन्स भएमा जापानको सवारी चालक अनुमति पत्र योग्यता परिक्षणमा पाईने छुटको सूविधालाई दुरुपयोग गर्दै जापानमै भएका नेपालीको समेत सोही समयमा नेपालमा लाईसेन्स निकालेको पाईएको बताईएको छ ।

समाचारमा नक्कली लाईसेन्स बनाईदिए बापत आरोपीहरुले प्रतिव्यक्ति १८ मान जापानी येन अर्थात् करिव १ लाख ८० हजार नेपाली रुपैयाँसम्म लिएको पाईएको छ ।

नेपालमा सवारी चालक अनुमतिपत्र लाईसेन्स विभागका कर्मचारीहरुसँग मिलेमतो गरेर नेपालको लाईसेन्स गलत प्रक्रियाबाट बनाउन लगाउनुका साथै दुरुस्तै खालको नक्कली लाईसेन्स समेत बनाउने गरेको आरोप उनिहरुमाथि छ ।

साइतामा प्रान्तमा ड्राइभिङ स्कूल समेत चलाउँदै आएका उनिहरुले नेपालमा कुनै ड्राइभिङ अनुभव नै नभएका नेपालीहरुलाई समेत यस्तो लाईसेन्स बनाउन सघाउनेगरेको आरोप छ ।

दुवै आरोपीलाई मंगलबार पक्राउ गरिएको समाचारमा जनाईएको छ ।

नक्कली लाईसेन्स बनाउन सघाएको आरोपमा पक्राउ परेका दुवैले आफुमाथिको आरोपलाई अस्विकार गरेका छन् ।

समाचारमा उल्लेख भए अनुसार पक्राउ परेका मध्ये पुश्कर थापाले आफूमाथिको सबै आरोप अश्विकार गरेका छन् । उनका भाई अशोक थापाले भने आफुमाथि लागेका आरोप मध्ये केही अस्विकार गरेको समाचारमा उल्लेख छ ।