टोकियो, जापान ।
जापानमा शरिरमा ट्याटु बनाउने व्यक्तिहरुप्रति हेर्ने आम नजर मात्र नभई सरकारी दृष्टिकोण पनि नकारात्मक छ । तर अब भने समय र परिस्थितिले जापान सरकार ट्याटु बनाउने युवाहरुप्रति नरम हुने देखिएको छ ।
कारण हो सरकारले ट्याटु बनाएका युवाहरूलाई 'सेना' (जापान सेल्फ डिफेन्स फोर्स)मा सामेल हुन अनुमति दिने योजनालाई अघि बढाएको छ । कम जन्मदरका बिच युवाहरुको आत्मरक्षा बलमा भर्ति हुने संख्या घट्दै जाँदा यस्तो नीति अपनाउन लागिएको बताइएको छ । सबै कुरामा योग्य भएर शरिरमा ट्याटु भएकै कारण भर्ति नपाएकाहरुलाई अब बञ्चित नगरिने सरकारी योजना छ ।
आत्मरक्षा बलको सदस्यमा हाल ट्याटु भएकाहरुलाई आवेदन दिन नै प्रतिबन्ध लगाइएको छ । सामान्यतया जापानमा सुरक्षा निकायमा मात्र नभई अन्य धेरै कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई शरिरमा ट्याटु बनाउन निषेधित गर्ने गरेका छन् ।
सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीका माथिल्लो सदनका सांसदले आवश्यक कर्मचारी सुरक्षित गर्न यस्तो प्रतिबन्ध हटाउन अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याए पछि सरकारले यस्तो कदम अघि बढाएको हो ।
आत्मरक्षा बल क्याडेटहरूको गम्भीर कमीलाई ध्यानमा राख्दै मासाहिसा सातोले भने, 'आवेदकहरूलाई ट्याटु भएको कारणले मात्रै अस्वीकार गर्दा मानव संसाधनको आधारमा समस्या उत्पन्न हुन्छ ।'
शरिरमा साना ट्याटुहरू बनाउन बिस्तारै जापानी युवाहरूमाझ लोकप्रिय हुँदै जाँदा आत्म रक्षा बलमा आवश्यकता अनुसार जवानहरु अपुग हुन थालेका छन् । जापानमा विशेष गरी पूरै शरीर ढाक्नेगरि ट्याटु बनाउनेहरुलाई याकुजा अपराध सिन्डिकेट वा अन्य असामाजिक समूहहरूसँग जोडेर हेर्ने गरिन्छ ।