टोकियो, जापान ।
जापानी प्रहरीले युट्युबरको परिचय बनाएका माथिल्लो सदनका पूर्व सदस्य गासीलाई धम्की दिने लगायतका धेरै आरोपमा पक्राउ गरेको छ ।
गासी गत वर्ष विपक्षी दलबाट माथिल्लो सदनमा निर्वाचित भएका थिए । तर कुनै पनि डाइट सत्रमा उपस्थित हुन नसकेपछि उनलाई निष्कासन गरिएको थियो ।
गासि, जसको वास्तविक नाम हिगाशितानी योशिकाजु हो, आइतवार संयुक्त अरब इमिरेट्सबाट जापान फर्केका थिए । उनलाई टोकियो प्रहरीले बिमानस्थलबाटै पक्राउ गरेका हुन् ।
सेलिब्रेटीहरू र व्यवसायीहरूलाई अनलाइन भिडियोहरूमा बारम्बार धम्की दिने र गाली गरेको आरोपमा टोकियो प्रहरीले उनलाई हिरासतमा लिएको हो । गासि युट्युबमा विवादास्पद विषयहरुमा भिडियो बनाएर जापानमा चर्चित छन् ।
उनी विरुद्ध धेरै प्रतिष्ठित व्यक्तिहरूले आपराधिक उजुरी दिएका छन् । टोकियो प्रहरीले मार्चमा उनको गिरफ्तारीको लागि वारेन्ट प्राप्त गरेको थियो र उनलाई इन्टरपोलको खोजी सूचीमा राख्न अनुरोध गरेको थियो ।
त्यस पश्चात युएई गएर नफर्किएका उनलाई पक्राउ गर्न प्रहरीले उनको स्वदेश फिर्ताको समय कुरेर बसेको थियो । केहिदिन अघि मात्र स्वदेश फर्कने बताएपछि प्रहरीले गासिलाई एयरपोर्टबाटै पक्राउ गर्ने बताइसकेको थियो ।