(Japan) 5 th June | 2023 | Monday | 2:45:14 AM || (Nepal) 11:30:14 PM
 
 

जापानमा याकुजा समूहमा आवद्ध घटे, अधिकाशं आपराधिक घटनामा मुछिने बिदेशीमा भियतनामी र चिनियाँ

  POSTED ON : Sunday, 26 March, 2023 | Views : 1358

जापानमा याकुजा समूहमा आवद्ध घटे, अधिकाशं आपराधिक घटनामा मुछिने बिदेशीमा भियतनामी र चिनियाँ


टोकियो, जापान ।

सन् २०२२ मा प्रहरीले अनुसन्धान गरेको याकुजा अपराध सिन्डिकेटका सदस्य र सहयोगी सदस्यको सङ्ख्या सन् १९९१ मा संगठित अपराध विरोधी कानून बनेपछि पहिलो पटक १०,००० भन्दा कम भएको प्रहरी तथ्यांकले देखाएको छ ।

गत बर्ष देशभरमा नौ वटा गोली प्रहारसँग सम्वन्धित घटना भएका छन् । जसमा चार जनाको मृत्यु भएको राष्ट्रिय प्रहरी एजेन्सीले बताएको छ । यसमा पूर्व प्रधानमन्त्री शिन्जो आबेको घटना पनि समावेश छ । आवेलाई गत जुलाईमा नारामा चुनावी अभियानको भाषणको क्रममा युनिफिकेशन चर्चको विरुद्ध रिसाएका एक व्यक्तिले गोली हानी हत्या गरेका थिए ।

२०२२ मा प्रहरीले कुल ३२१ वटा विभिन हतियारहरू जफत गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा २६ ले बढी थियो । यसमा आबे गोली प्रहारका कथित हमलावरले प्रयोग गरेको बन्दुक समेत समावेस छ । यसका आरोपित तेत्सुया यामागामीमाथि मुद्दा प्रक्रिया अगाडी बढेको छ । प्रहरीले आगामी मुद्दाको कारबाहीका कारण यामागामीले कति हतियार राखेको थियो भन्ने खुलाएको छैन ।

प्रहरीले सन् २०२२ मा याकुजा अपराध सिन्डिकेटका ९,९०३ सदस्य र सहयोगी सदस्यहरूको छानबिन गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा १,८३२ कम हो । संगठित अपराधविरुद्धको कडा कारबाहीका बीचमा, तथ्याङ्कले आपराधिक संगठनमा आवद्ध व्यक्ति र उनिहरुका गतिविधि घटेको देखाएको छ ।

याकुजा समूहमा जोडिएका व्यक्तिहरूको कुल संख्या २०२२ को अन्त्यसम्ममा करिब २२,४०० रहेको छ । जुन एक वर्ष अघिको तुलनामा लगभग १७०० ले कम हो । साथै यो अहिलेसम्मकै न्यून संख्या रहेको तथ्यांकले देखाएको छ ।

अनुसन्धानमध्ये २,१४१ उत्तेजक पदार्थ नियन्त्रण कानूनको संदिग्ध उल्लङ्घन, १,४२४ कथित ठगी र १,१४२ शारीरिक चोटसँग सम्बन्धित घटनामा कारवाहीमा परेकाहरु रहेका छन् ।

अगस्ट २०१५ मा जापानको सबैभन्दा ठूलो याकुजा संगठन यामागुची गुमीमा विभाजन भएपछि प्रतिद्वन्द्वी समूहहरूबीच चलिरहेको झगडाको बीचमा दुवै समुहका गतिविधिमा प्रहरी सतर्क रुपमा रहेको बताइएको छ ।

यामागुची गुमी र इकेदा गुमी बीचको कलहसँग जोडिएको मानिने गरी २०२२ मा कुल सात वटा घटनाहरू भएका छन् ।

तथ्याङ्कले प्रहरीले जापानमा गत बर्ष ९,५४८ जना विदेशी नागरिकहरूको आपराधिक गतिविधिमाथि छानबिन गरेको देखाएको छ, जुन अघिल्लो वर्षको तुलनामा १,१२९ ले कम हो । यस्ता आपराधिक गतिविधिमा जोडिएका कुल बिदेशी मध्ये करिब ६० प्रतिशत विदेशी नागरिक भियतनाम र चीनका रहेका छन् ।

कुल ५,३४२ जनामाथि गाँजाको सम्बन्धमा अनुसन्धान गरिएको थियो, जुन अघिल्लो वर्षको हालसम्मकै उच्च रेकर्डको तुलनामा १४० ले कम रहेको प्रहरीको तथ्यांकले देखाएको छ ।