ओसाका, जापान ।
जापानको ओसाका प्रिफेक्चरल सरकारका तीन कर्मचारीको तलब काटिएको छ । चेतावनी पाएर पनि चुरोट खान नछोडेको अनि कामको बेलामा चुरोट खाएर स्थानीय निजामति सेवा ऐनको उल्लंघन गरेको आरोपमा उनीहरुमाथि कारबाही गरिएको हो । ती तीन जनाको ६ महीनाको तलबमा १० प्रतिशतको कटौती गरिएको छ ।
कामकै समयमा ४ हजार ५१२ पटक चुरोट खाएको भन्दै तीन मध्ये एक कर्मचारीलाई भने चुरोटमा खर्चिएको समय बराबरको १४ लाख ४० हजार येन (११ हजार डलर) पैसा फिर्ता गर्न पनि आदेश दिइएको छ । प्रिफेक्चरल सरकारले मार्च २० मा यस्तो घोषणा गरेको हो ।
कार्य समयमा बारम्बार चुरोट खाएको भन्दै वित्त विभागका तीन पुरुष कर्मचारीका १० प्रतिशत तलब कटौती गरिएको छ । तीन जना मध्ये ६१ वर्षका कामदारले ड्युटीमै भएको समयमा साढे १४ वर्षको अवधिसम्म कूल ३५५ घन्टा १९ मिनेट चुरोट सेवन गरेको पूष्टि भएको छ ।
प्रिफेक्चरल सरकारको मानव संसाधन विभागका अनुसार सन् २०२२ को सेप्टेम्बरमा अज्ञात व्यक्तिले यसबारे पोल लगाएका थिए ।
त्यस्तो नगर्न सुपरिवेक्षकले तीनै जनालाई चेतावनी दिएका थिए । सुपरिवेक्षकहरुले तीनै जनाको पिछा गर्दा चेतावनी पाएपछि पनि उनीहरुले बारम्बार चुरोट सेवन गरेको देखे । तर सोध्दाखेरि सबैले एकै स्वरमा डिसेम्बरमा चेतावनी पाएपछि चुरोट खान छोडेको भनेर ढाटे ।
सरकारी आदेशअनुसार ६१ वर्षका कर्मचारीले १४ लाख ४० हजार येन तलब फिर्ता गर्नुपर्नेछ ।