टोकियो, जापान ।
जापानमा विदेशी बासिन्दाको संख्या ३० लाख नाघेको छ । सन् २०२२ को अन्त्यसम्ममा यहाँ ३० लाख ७५ हजार २१३ विदेशी नागरिक रहेको जापानको अध्यागमन सेवा विभागको तथ्यांकले देखाएको छ ।
जापानमा विदेशी बासिन्दाको यो संख्या अहिलेसम्मकै कीर्तिमानी धेरै हो । यो एक वर्ष अघिको भन्दा ११ दशमलव ४ प्रतिशत धेरै भएको विभागले बताएको छ ।
सरकारले कोभिडका कारण सीमा लगाएको प्रतिबन्धका उपायहरु खुकुलो पारेपछि विदेश विद्यार्थी र प्राविधिक प्रशिक्षार्थीहरुको संख्या पनि ह्वात्तै बढेको छ ।
कूल मध्ये सबैभन्दा धेरै अर्थात् ७६ हजार ५६३ जना चीनका छन् । राष्ट्रियताका आधारमा जापानमा सबैभन्दा ठूलो समूह चिनियाँहरुको छ । दोस्रो र तेस्रो स्थानमा भने भियतनाम र दक्षिण कोरिया रहेको छ ।
यी दुबै देशका नागरिकहरुको संख्या क्रमशः ४ लाख ८९ हजार ३१२ र ४ लाख ११ हजार ३१२ रहेको छ । यी सबैको संख्या एक वर्ष अघिको भन्दा समीक्षा अवधिमा बढेको छ ।
आवासीय हैसियतका आधारमा विदेशी विद्यार्थीहरुको संख्या ९२ हजार ८०८ ले बढेको छ । प्राविधिक प्रशिक्षार्थीहरुको संख्या ४८ हजार ८१७ ले बढ्दा इन्जिनियरिङ, मानविकी र अन्तरराष्ट्रिय सेवामा विज्ञहरुको संख्या पनि ३७ हजार २२१ धेरै पाइएको छ ।
समीक्षा अवधिमा अध्यागमन नियन्त्रण र शरणार्थी पहिचान कानूनअन्तर्गत शरणार्थी हैसियत दिइएका विदेशीहरुको संख्या १२८ ले बढेर २०२ पुगेको छ ।
शरणार्थी हैसियत नदिइएको तर मानवियताका आधारमा जापानमा बस्न अनुमति दिइएकाहरुको संख्या पनि १ हजार १८० ले बढेर १ हजार ७६० पुगेको छ । यी दुबैको संख्या सन् १९८२ मा जापानले शरणार्थीलाई मान्यता दिने प्रणालीको स्थापना गरेयताकै उच्च हो ।