टोकियो, जापान ।
पूर्व विश्व च्याम्पियन स्कीयर काइल स्माइनको आइतबार मध्य जापानमा हिमपहिरोमा परेर मृत्यु भएको छ ।
अमेरिकी सञ्चारमाध्यमहरुमा प्रकाशित समाचार अनुसार जापानको नागानोमा हिम पहिरोमा परि ज्यान गुमाएका भनिएका व्यक्ति अमेरिकी पूर्व विश्व च्याम्पियन स्कियर हुन् । युएस फ्रिस्की टोलीले लेखेको छ 'आज हामीले हिमालमा एक अविश्वसनीय व्यक्ति, साथी, स्कीयर र टोलीका साथी गुमायौं ।' अगाडि लेखिएको छ 'स्माइनलाई पहाडहरू अन्वेषण गर्न मन पर्थ्यो, उनि कडा प्रतिस्पर्धी तर त्यो भन्दा बढि राम्रो व्यक्ति र साथी थियो ।'
स्माइनकी श्रीमतीले लेखेकी छिन्, 'मैले तिमीसँग विवाह गर्न र मेरो जीवनमा तिमीलाई राख्न पाएकोमा म अत्यन्तै आभारी छु ।'
जापानको प्रहरीले नागानो प्रिफेक्चरको रिसोर्ट नजिक आइतवार विदेशी नागरिकहरू हिमपहिरोमा फसेको जनाएको छ । सोमबार दुई पुरुषहरू मृत अवस्थामा फेला परेका विवरण सार्वजनिक भएका थिए । तर परिचय जापान प्रहरीले खुलाएको छैन ।
अन्तर्राष्ट्रिय स्की महासंघले सन् २०१५ मा विश्व च्याम्पियनसिप र २०१८ को विश्वकपमा स्माइनले हाफपाइप जितेको बताएको छ ।