(Japan) 30 th November | 2022 | Wednesday | 1:31:51 PM || (Nepal) 10:16:51 AM
 
 

जापानमा स्नातक पुरा गर्दै गरेका ७४ प्रतिशत विद्यार्थीले जागिर पाए

  POSTED ON : Monday, 21 November, 2022 | Views : 168

जापानमा स्नातक पुरा गर्दै गरेका ७४ प्रतिशत विद्यार्थीले जागिर पाए


टोकियो, जापान ।

जापानमा आगामी मार्चमा स्नातक तहको पढाई पूरा गर्ने क्रममा रहेका ७४ प्रतिशतभन्दा धेरै विद्यार्थीले जब अफर पाएका छन् ।

अक्टोबर १ सम्ममा ७४ दशमलव १ प्रतिशतले अनौपचारिक रुपमा जागिर पाएका हुन् । यो एक वर्ष अघिको तुलनामा २ दशमलव ९ प्रतिशत धेरै भएको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले गरेको सर्वेक्षणले देखाएको हो ।

श्रम बजारमा कर्मचारीको अभाव भएको र कोरोना भाइरसको महामारीबाट विस्तारै अर्थतन्त्रमा पुनःबहाली आइरहेको अवस्थामा लगातार दोस्रो वर्ष पनि जागिरको अफर पाउने विद्यार्थीको अनुपात बढेको छ ।

कम्पनीहरुले थप कर्मचारी भर्ती गर्ने इच्छा देखाइरहेकोले थप विद्यार्थीहरुले जागिर पाउने देखिएका छन् । अघिल्लो वर्षको तुलनामा बढेको भएपनि कोरोना भाइरसको महामारी अघिको तुलनामा भने जब अफर निकै कम हो ।

स्नातक तहपछि जागिर पाउने पुरुष र महिला विद्यार्थीहरुका संख्या सुधारिएको छ । क्रमशः ७२ दशमलव ७ प्रतिशत र ७५ दशमलव ७ प्रतिशतले  जब अफर पाएका छन् ।

मुख्य विषय मानविकी र सामाजिक विज्ञान लिएर पढेकाहरुको दर २ दशमलव ७ प्रतिशतले बढेर ७३ दशमलव ५ प्रतिशतमा पुगेको छ । विज्ञानलाई मुख्य विषय बनाएकाहरुको जब अफर दर पनि एक वर्ष अघिको भन्दा ४ प्रतिशतले बढेर ७६ दशमलव ६ प्रतिशतमा पुगेको छ ।