(Japan) 30 th November | 2022 | Wednesday | 12:10:52 PM || (Nepal) 8:55:52 AM
 
 

जासुसी आरोपमा जापानी कूटनीतिज्ञ रुसबाट निकाला, माफी माग्न जापानको माग

  POSTED ON : Tuesday, 27 September, 2022 | Views : 662

जासुसी आरोपमा जापानी कूटनीतिज्ञ रुसबाट निकाला, माफी माग्न जापानको माग


टोकियो, जापान ।

जापानका मुख्य क्याबिनेट सचिव मात्सुनो हिरोकाजुले जासुसीको आरोप लागेका जापानी कूटनीतिज्ञले रुस छाड्न लागेको बताएका छन् । रुसी अधिकारीहरूले लगाएजस्तो आफ्ना कुटनीतिक अधिकारी गैरकानूनी गतिविधिमा संलग्न नभएको मात्सुनोले बताएका छन् । उनले कूटनीतिज्ञ बुधबार रसियाबाट जापान आउँदै गरेको जानकारी दिएका छन् ।

रुसी सरकारले रुसी सुदूर पूर्वको भ्लादिभोस्तोकस्थित जापानी महावाणिज्य दूतावासका कूटनीतिज्ञलाई रुस बिरुद्ध जासुसी गरेको ठहर गर्दै देश छाड्न आदेश दिएको थियो । ति कूटनीतिज्ञ एक पटक रुसी हिरासतमा समेत परेका थिए ।

मात्सुनोले मंगलबार पत्रकारहरूलाई जापानले उक्त घटनाप्रति बिरोध जनाएको बताउँदै रुसलाई जापानको विरोधलाई इमानदारीपूर्वक स्वीकार गर्न आग्रह गरेका छन् ।

उनले कूटनीतिज्ञ हाल हिरासतमा नभएको र कुनै स्वास्थ्य समस्या नरहेको बताए । सरकारले उक्त व्यक्तिलाई सुरक्षाको दृष्टिकोणबाट जतिसक्दो चाँडो जापान फर्कन दिने गरी काम गरिरहेको भन्दै उक्त व्यक्ति ढिलोमा बुधबार रसिया छाड्ने कार्यक्रम रहेको बताए ।

रुलाई माफी माग्न जापानको माग

जापानले मंगलबार रुसलाई कथित जासुसीको आरोपमा एक कूटनीतिज्ञलाई हिरासतमा लिएकोमा माफी माग्न माग गरेको छ । रुसले लगाएको आरोप अस्वीकार गर्दै जापानले मस्कोले आँखामा पट्टी बाँधेको र व्यक्तिलाई अविश्वसनीय कार्यमा मुछेको आरोप लगाएको छ ।