(Japan) 27 th September | 2022 | Tuesday | 5:17:15 PM || (Nepal) 2:02:15 PM
 
 

सिष्टम बिग्रिएको समयको लागि एनटीटीले आकस्मिक सार्वजनिक फोन ल्याउँदै

  POSTED ON : Wednesday, 10 August, 2022 | Views : 512

सिष्टम बिग्रिएको समयको लागि एनटीटीले आकस्मिक सार्वजनिक फोन ल्याउँदै


टोकियो, जापान ।

जापानी दूर सञ्चार सेवा प्रदायक निप्पोन टेलिग्राफ एन्ड टेलिफोन इष्ट कर्पोरेशन (एनटीटी इष्ट)ले आफ्नो नेटवर्कमा व्यापक अवरोध आउँदा आकस्मिक रुपमा प्रयोग गर्न सकिने सार्वजनिक फोन बनाउनेबारे विचार गरिरहेको छ ।

कम्पनीका अध्यक्ष नाओकी शिबुतानीले अन्तरवार्ताको क्रममा यस्तो बताएको भन्दै आसाही शिम्बुनले समाचार छापेको छ ।

जुलाईको शुरुमा केडीडीआई कर्पोरेशनको दूरसञ्चार सेवामा व्यापक समस्या देखिएर करोडौं प्रयोगकर्ताहरु ३ दिनभन्दा लामो समयसम्म सेवाबाट बञ्चित भएको अनि आकस्मिक सेवाका लागि फोन गर्न समेत नसक्ने भएको घटनाको एक महीना हुँदै गर्दा उनको सो अभिव्यक्ति आएको हो ।

आकस्मिक प्रयोजनका सार्वजनिक फोनहरु सामान्य समयमा उपलब्ध हुँदैनन् । विपद्को समयमा वा नेटवर्कमा समस्या आएको समयमा यो सेवालाई निःशुल्क रुपमा प्रयोग गर्न सकिनेछ । यो फोन प्राथमिक विद्यालय तथा निम्न माध्यमिक विद्यालय, सामूदायिक केन्द्र र अन्य स्थानमा जडान गरिनेछ ।

स्मार्टफोन र अन्य मोबाइल उपकरणको प्रयोग बढेसँगै एनटीटी गु्रपले सडक तथा अन्यत्र रहेको पैसा तिरेर नियमित रुपमा चलाउन सकिने फोनहरु हटाउँदै गइरहेको छ । मार्चमा १ लाख ३८ हजार ओटा यस्ता फोन प्रयोगमा थिए ।

यो १० वर्ष अघिको तुलनामा ४० प्रतिशत कम हुन् । उता, कम्पनीले आकस्मिक समयमा प्रयोग गर्न सकिने फोनको संख्या भने १० गुणाले बढाएर ८८ हजारमा पुर्‍याएको छ ।