(Japan) 10 th August | 2022 | Wednesday | 7:42:54 PM || (Nepal) 4:27:54 PM
 
 

प्रचण्डले विद्यार्थी, व्यवसायी देखि शिन्जो आबेको बारेमा के भने त्यस्तो जुन केही तथ्य गलत छ

  POSTED ON : Saturday, 06 August, 2022 | Views : 2992

प्रचण्डले विद्यार्थी, व्यवसायी देखि शिन्जो आबेको बारेमा के भने त्यस्तो जुन केही तथ्य गलत छ


टोकियो, जापान ।

पूर्व प्रधानमन्त्रीको रुपमा भन्दा पनि नेकपा माओवादी केन्द्रको अध्यक्षको रुपमा पुष्पकमल दाहाल प्रचण्ड ५ दिने जापान भ्रमणमा शनिवार टोकियो आइपुगेका छन् । पार्टी अध्यक्षको हैसियतमा यस अर्थ उनको जापान भ्रमण कुटनीति वा जापान सरकारको निमन्त्रणामा नभई पार्टि निकट नेपाली जनप्रगतिशिल मञ्चको निमन्त्रणमा भएको हो ।

सत्ता साझेदार प्रमुख दलको अध्यक्ष सहित पूर्व प्रधानमन्त्रीको आगमनमा बिमानस्थलमा स्वागत गर्न राजदूत सहित मञ्चका पदाधिकारी र मावोवादी केन्द्र निकटका दुई दर्जन बढि व्यक्ति बिमानस्थल पुगेका थिए । साथमा एनआरएनए आवद्ध केही व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।

बिमानस्थलमा स्वागतपछि संक्षिप्त बोल्दै दाहालले जापानमा रहेका नेपालीको अवस्था देखि व्यवसायी, विद्यार्थी, नेपाल जापान सम्वन्ध सहित गत महिना हत्या गरिएका जापानका पूर्व प्रधानमन्त्री आबे शिन्जोका बारेमा समेत आफ्ना धारणा राखेका छन् । यस बाहेक नागरिकता विधेयक गैर आवासिय नेपालीको लागि एउटा राम्रो पक्ष भएको दाहालको भनाई थियो ।


यस्तो छ बिमानस्थलमा दाहालले बोलेका कुराको सम्पादित अंश

अहिले म जापान आईपुगेको छ । सबैभन्दा पहिला आयोजना गर्नुहुने साथीहरु र संस्थालाई धन्यवाद व्यक्त गर्दछु । मलाई यो स्वतस्फुर्त रुपमा उपस्थित भएर जस्तो लाग्छ नेपालीहरुले जुन आत्मिय, न्यानो स्वागत गर्नुभयो यसको लागि धन्यवाद व्यक्त गर्दछु ।

मैंले एउटा त यहाँ नेपालीहरुको कस्तो अवस्था छ, नेपालले जापानमा रहेका नेपालीहरुको निम्ति के चाहिँ गर्नु आवश्यक छ, चाहे व्यवसाय गर्ने, पढ्ने विद्यार्थी वा अन्य व्यवसायमा रहेकाहरुको लागि नेपाल सरकारको तर्फबाट, नेपालको राजनीतिक दल के गर्नुपर्छ, के गर्नु उचित हुन्छ भन्ने अध्ययन गर्ने एउटा विषय छ मेरो । दोस्रो नेपाल र जापानबिचको सम्वन्ध धेरै पुरानो छ । जापान नेपालको एउटा प्रमुख डोनर देशनै हो । त्यस कारण यहाँ मेरो जापान सरकारका प्रतिनिधिहरुसँग पटकपटक कुराकानी हुने गरेको र म जापान आउने कुरा भइसकेपछि मेरो ईच्छा के थियो भने आबे जो पूर्व प्रधानमन्त्री उहाँलाई भेट्ने भनेर मैंले मिलाउन प्रयास गर्दै थिएं । जापानको राजदूतसँग नेपालको राजदूतावास मार्फत पनि कुराकानी भइरहेको थियो ।

किनकी पूर्व प्रधानमन्त्रीको हैसियतले उहाँ नेपाल भ्रमण गर्दा म सँग दुई तीन पटक कुराकानी भएको थियो र असाध्य राम्रो सम्वन्ध भएको थियो हाम्रो । एकअर्का प्रति राम्रो ईन्टर्याक्सन भएको थियो र उहाँलाई भेटेर नेपाल र जापानको सम्वन्धलाई अर्को हाईटमा लाने भन्ने मेरो ईच्छा थियो, बढो दुर्भाग्यपूर्ण घटना, जापानको लागि त यो बिरलै हुने घटना यसको विश्वव्यापी पनि ईम्प्याक्ट परेको छ । म उहाँप्रति विशेष सम्मान पनि भन्न चाहन्छु र उहाँको शोक सन्तप्त परिवार प्रति समवेदना पनि भन्न चाहन्छु । मौका मिल्यो भने जाने ईच्छा पनि थियो अब हुन्छ हुँदैन थाहाछैन । अर्को यहाँका पार्लियामेन्टरी वा राजनीतिक दलका नेतासँग केही न केही छलफल हुन्छ र त्यो मार्फत पनि नेपाल जापान सम्वन्ध अझ अगाडी बढाउन के गर्न सकिन्छ मेरो त्यसैमा ध्यान केन्द्रित रहन्छ ।

उच्चस्तरिय भ्रमणले स्वाभावैले एउटा सकारात्मक माहौल बन्द, एउटा वातावरण बन्छ । दुई देशको सम्वन्धलाई विकसित गर्न दुई देशको बिचको आर्थिक सहयोग र अन्य सहयोगको क्षेत्रलाई विस्तार गर्न पनि यसखालका भ्रमणहरुले वातावरण बन्छ र मलाई विश्वास लाग्छ । र मेरो भ्रमणपनि र राष्ट्रिय सभाका अध्यक्षको भ्रमणले पनि त्यो बावतावरण बनाउन सहयोग नै हुन्छ ।

आईटी सेक्टरमा जापानको स्थित डेभलपमेन्टमा के छ भन्ने मेरो अलि बढि रुचि त्यसमा छ ।

जापान हामी सबैको निम्ति एउटा प्रेरणाको श्रोत पनि हो । जसरी युद्धबाट तबाह बनाईएको देश, आफ्नै खुट्टामा उभिएर आफ्नै मेहनतले यति माथि आउन सक्दो रहेछ भन्ने उदाहरण जापान भएको हुनाले त्यो ईन्स्पाइरेसन लिनेकुरा पनि जापान आउनुको मतलब ।

नेपालीहरु जहाँसुकै रहुन्, उनिहरुलाई नेपालकै बढि मायाँ लाग्छ । नेपालमा हामीले स्थायित्व र विकासको एउटा नयाँ प्रक्रिया सुरुवात गर्न सक्यौं भने सबैले आफ्नो ज्ञान, सिप, साधन, श्रोत त्यहाँ प्रयोग गर्ने हुन्छ । मेरो ध्यान, जोड भन्नुहुन्छ भने आउनोस्, फर्किनुस् भनेर फर्किने स्थिति हुँदैन । त्यहाँ त्यस्तो आधार बनाईदिन पर्यो विकासको, अनि राजनीतिक आधार बनाईदिन पर्यो जसले गर्दा नेपालीहरु स्वतह आफ्नो ज्ञान, सिप लिएर नेपाल जाने वातावरण बनोस् । अहिले तपाईंहरुले यो पनि थाहा पाउनुभयो नागरिकताको एनआरएनएसँग सम्वन्धित जुन विषय थियो, संविधानमा हामीले नै बल गरेर राखियो र अहिले जुन नागरिकता विधेयक अगाडी बढाउँदै छौं, त्यसमा पनि एनआरएनए नेपालीहरु जो विदेशमा छन् उनिहरुको हितलाई बढि ध्यान दिएका छौं ।


फ्याक्ट चेक !

विमानस्थलमा बोल्ने क्रममा दाहालले बोलेको एउटा प्रशंग हो जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको नेपाल भ्रमण ।

शिन्जो आबे नेपाल भ्रमणमा आउँदा भनेर स्पष्ट शब्दमा प्रचण्डले बोलेको कुरा पछि जापानसमाचारले गुगल तथा अन्य माध्यमबाट आबेको नेपाल भ्रमणबारे चेकजाँचको प्रयास गरेको छ । तर कुनैपनि तथ्यमा हेर्दा शिन्जो आबेले मृत्य अघि कहिलेपनि नेपाल भ्रमण गरेको तथ्य भेटिएन ।

अर्थात् शिन्जो आबेले प्रधानमन्त्री रहँदा वा पदबाट हटेपछि पनि नेपाल भ्रमण गरेको आधिकारिक तथ्यांक कतै छैन ।

भ्रमण मात्र होइन दाहालले भनेको दुई तीनपटक कुराकानी भएको थियो र असाध्य राम्रो सम्वन्ध भएको भन्ने तथ्यमा समेत स्पष्टता कतै भेटिएन ।

नेपाल भ्रमणमै नगएका आबेले दाहाललाई नेपालमा भेट्ने कुरै भएन । अर्को तथ्य विश्व मञ्चहरु जस्तै संयुक्त राष्ट्रसंघ वा अन्य फोरमहरुमा पनि आबेले नेपालका कुनै शिर्ष नेतालाई भेटेका छन् कि भनेर अनलाईनको माध्यमबाट खोजी गर्दा त्यो तथ्य कतै उपलब्ध हुन सकेन । अर्थात् आबे र दाहालबिच भौतिक रुपमा भेट भएको तथ्य प्रमाण कतै पाउन सकिएन । तर भेट नहुँदैमा दुई नेताबिच सम्वन्ध थिएन वा मित्रता नै थिएन होला भन्न चाहिँ सकिंदैन । किनभने अनलाईन तथा ईमेल सहित कुटनीतिक र दलिय माध्यमबाट समेत कुराकानी भएर आबेसँग दाहालकै शब्दमा भन्ने हो भने असाध्य राम्रो सम्वन्ध रहेको हुनसक्छ ।