(Japan) 10 th August | 2022 | Wednesday | 8:18:04 PM || (Nepal) 5:03:04 PM
 
 

पुष्पकमल दाहाल जापान आइपुगे, यस्तो छ ५ दिने जापान भ्रमणको तालिका

  POSTED ON : Saturday, 06 August, 2022 | Views : 1868

पुष्पकमल दाहाल जापान आइपुगे, यस्तो छ ५ दिने जापान भ्रमणको तालिका


टोकियो, जापान ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ५ दिने भ्रमणका क्रममा जापान आइपुगेका छन् ।

शनिवार राजधानी टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय बिमानस्थलमा आइपुगेका दाहाललाई नेपाली राजदूतावासका राजदूत दुर्गा बहादुर सुवेदी, दूतावासका प्रथम सचिव अम्बिका जोशी लगायतले स्वागत गरेका छन् ।

नेपाली जनप्रगतिशिल मञ्च जापानको निमन्त्रणामा जापान आएका पूर्व प्रधानमन्त्री दाहाल सहितको भ्रमण टोलीलाई मञ्चका अध्यक्ष भवानी पन्त, एनआरएनए आईसिसिका पूर्व अध्यक्ष भवन भट्ट, एनआरएनए अन्र्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष रोविन्द श्रेष्ठ, भूषण घिमिरे, , एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नवीन निउरे, मंचका पदाधिकारीहरू, मंचका केन्द्रीय समितिका सदस्य, विभिन्न नेपाली संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू उपस्थित थिए ।

दाहाल माओवादी केन्द्रको जापानस्थित भातृसंस्था नेपाली जनप्रगतिशील मञ्चले आयोजना गरेको अन्तरक्रिया लगायत कार्यक्रममा भाग लिन जापान आएका हुन् ।

दाहाल नारिता बिमानस्थलबाट सिधै जापानको फुकुओका स्थित शहरको लागि उडेका छन् । जहाँ आज आयोजना गरिएको फुकुओका नेपाल फेस्टिवल दाहालले उद्घाटन गर्दैछन् । आजै साँझ दाहाल फुकुओकाबाट ओसाका जाने र त्यहाँ रहेका नेपाली समुदायसँग अन्तरक्रिया कार्यक्रममा सहभागी हुने बताइएको छ ।

दाहाल ७ तारिख हिरोसिमा क्षेत्रको भ्रमणमा जाने र सोहि दिन साँझ टोकियो आइपुग्ने कार्यक्रम छ । जहाँ उनले नेपाली जनप्रगतिशिल मञ्चले आयोजना गरेको समृद्ध नेपालको आधार ः आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन् ।

जुलाई ८ तारिख दाहालले सोमबार नेपाली राजदूतावासको सहकार्यमा जापानको विकसित नमुना कृषि, प्रशासनिक तौर तरिकासँगै फोहोर मैला व्यवस्थापन सम्वन्धि अवलोकन भ्रमण गर्ने बताइएको छ ।

जुलाई ९ तारिख मंगलबार जापानका केही सरकारी अधिकारीहरुसँग भेट गर्ने बताइएको छ । तर कुन स्तरको सरकारी भेटघाट र भेट हुने जापानी अधिकारीहरुबारे केही खुलाइएको छैन । ९ तारिख साँझ नै नेपाली राजदूतावास जापानले दाहालको स्वागत तथा बिदाई रात्रिभोज कार्यक्रम आयोजना गरेको छ । सोही रात्रीभोजमा पर्यटन र नेपालमा लगानी सम्वन्धमा दाहालले आफ्ना धारणा राख्ने बताइएको छ ।

कार्यतालिका अनुसार आफ्नो ५ दिने जापान भ्रमण सकेर दाहाल ४ सदस्यिय भ्रमण टोलि सहित अगष्ट १० तारिख नेपाल फर्कनेछन् ।