(Japan) 10 th August | 2022 | Wednesday | 7:23:25 PM || (Nepal) 4:08:25 PM
 
 

एकपछि अर्को गर्दै जापानमा मंकिपक्स संक्रमण फैलंदै, तेस्रो संक्रमित पुष्टि

NHK   POSTED ON : Saturday, 06 August, 2022 | Views : 250

एकपछि अर्को गर्दै जापानमा मंकिपक्स संक्रमण फैलंदै, तेस्रो संक्रमित पुष्टि


टोकियो, जापान ।

जापानमा हालै विश्वभर स्वास्थ्य आपतकालको रुपमा विश्व स्वास्थ्य संगठनले घोषणा गरेको मंकिपक्स भाइरसका बिरामी एकपछि अर्को गर्दै बढ्न थालेका छन् ।

यसअघि दुई जनामा टोकियोमा मंकिपक्स भाइरस संक्रमण पुष्टि गरेको जापानको स्वास्थ्य मन्त्रालयले फेरी अर्का संक्रमित टोकियोमै भेटिएको घोषणा गरेको छ । समाचार अनुसार टोकियोमा रहेको अमेरिकी सेना योकोता बेसमा रहेका २० वर्षका एक व्यक्तिलाई मंकिपक्स संक्रमण भएको पुष्टि भएको हो ।

मंकिपक्स भाइरस संक्रमण मुख्यतया युरोप र अमेरिकामा फैलंदोक्रममा रहेको छ ।

टोकियोस्थित अमेरिकी सेनाको योकोता एयर बेसमा रहेका २० वर्षका एक पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार ती पुरुषमा टाउको दुख्ने, शरिर दुख्ने, शरिरको छालाहरुमा दाग तथा फोका उठ्ने लाग्ने जस्ता लक्षण देखिएको थियो । उनी अगष्ट ४ गते स्वास्थ्य संस्थामा गएकामा संक्रमण पुष्टि भएको हो ।

उनी अहिले अमेरिकी सैन्य बेसमा रहेको मेडिकल कलेजमा भर्ना भएका छन् ।

उक्त व्यक्तिको हाल विदेश यात्राको इतिहास छैन, तर लक्षणहरू सुरु हुनु अघि विदेशबाट जापान भ्रमण गरेका मानिसहरूसँग निकट सम्पर्क रहेको बताइएको छ ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले स्थानीय सरकारहरू र अमेरिकी सेनासँग संक्रमण मार्गहरू र जापानमा कोही भाइरसको सम्पर्कमा आएको छ कि छैन भनेर अनुसन्धान गर्न सहयोग गरिरहेको बताएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले गत महिना अन्तर्राष्ट्रिय चिन्ताको जनस्वास्थ्य आपतकाल घोषणा गरेपछि पनि मुख्यतया युरोप र संयुक्त राज्य अमेरिकामा मंकिपक्स रोग फैलिने क्रम जारी छ । विश्वभरका ८८ देश र क्षेत्रहरूमा २६ हजार ८६४ जनामा ​​सङ्क्रमण भएको पुष्टि भएको छ । कम्तिमा १० जनाको विश्वभरमा पछिल्लो एक महिना बिचमा मंकिपक्स भाइरस संक्रमणबाट निधन भएको छ । यस बाहेक नाइजेरिया, कंगो लगायत अफ्रिकन देशहरुमा कम्तिमा ७५ जनाको शंकास्पद मंकिपक्स भाइरसको संक्रमणबाट निधन भएको ठानिएको छ ।

जापानमा भने मंकिपक्सका बिरामी पुष्टि भएको यो तेस्रो घटना हो ।