टोकियो, जापान ।
अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले आफ्नो विवादास्पद एसिया भ्रमणको अन्तिम चरणमा जापानका प्रधानमन्त्रीसँग टोकियोमा भेट गरेकी छिन् ।
पेलोसीले शुक्रबार बिहान किशिदा फुमियोसँग भेटवार्ता गरेकि हुन् । उनीहरूबिच चीन र अमेरिकाबीच बढेको तनाव र ताईवान क्षेत्रमा चीनियाँ गतिविधिका विषयमा वार्ता केन्द्रित रहेको बताइएको छ ।
पेलोसी र किशिदाले बिहान प्रधानमन्त्रीको कार्यालयमा भेटवार्तापछि मिडियासँग साक्षत्कार गरेका थिए ।
उनीहरूले ताइवानसँग उनीहरूको देशको साझा प्रतिरोध क्षमताहरू र स्वतन्त्र र खुला इन्डो प्यासिफिकको अवस्थाबारे छलफल गरेको बताईन्छ । युक्रेनमा रुसको आक्रमण पनि उनीहरूको एजेन्डामा रहेको जापानी समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।
यस हप्ता, पेलोसी २५ बर्षपछि ताइवान भ्रमण गर्ने पहिलो अमेरिकी हाउस स्पिकर बनेकी थिइन् । उनले बुधवार ताइवानका राष्ट्रपति साई इङ वेनसँग भेटवार्ता गरेकी थिइन् ।
चीनको चेतावनीलाई बेवास्ता गर्दै ताईवान भ्रमण गरेपछि चीनले ताईवान क्षेत्र आसपास अहिलेसम्मकै ठूलो सैन्य अध्यास थालेको छ ।
न्यान्सिको भ्रमणले ताइवानलाई आफ्नो क्षेत्रको अन्तर्निहित भागको रूपमा दाबी गर्ने चीनलाई क्रोधित तुल्लाएको छ ।
बिहिबार मात्र चीनले ९ वटा व्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो । जस मध्ये ५ वटा जापानको विशेष आर्थिक क्षेत्र भित्र खस्ता जापानले बेईजिगं समक्ष बिरोध जनाएको छ ।