टोकियो ।
विकट तथा आर्थिक रुपले कमजोर समाजका बालबालिकालाई गुणस्तरिय शिक्षा सहुलियतमा प्रदान गर्दै आएको युमी स्कुलको लागि जापानी इन्टरनेट कम्पनी सफ्टबैंकले ५० थान आईप्याड सहयोग गरेको छ ।
यूमी स्कुलका संस्थापक शरद राईको पहलमा सफ्टबैंकले पुर्बी खोटाङमा रहेको युमी स्कुलको लागि ५० थान आईप्याड सहयोग उपलब्ध गराएको हो ।
सोही कम्पनीमा कार्यरत राईको पहलमा विद्यार्थीहरुलाई आधुनिक प्रविधिको अध्ययन तथा आईटीमा सहयोग पुग्नेगरि कम्पनीले सहयोग उपलब्ध गाराएको हो । केहि समय अगाडि, जापानी पेंटिंग कम्पनी मुसाशी पेन्ट्सले ३० थान ल्यापटप पनि प्रदान गरेको थियो ।
एक वर्ष अघि, मोरंगको विराटनगरमा आफ्नो दोस्रो यूमी विद्यालय स्थापना गरेपछि हाल २ ओटा विधालयमा ३६१ जना विधार्थीहरु अध्ययनरत छन् । यूमी स्कुल अन्य विधालयहरु भन्दा फरक किन पनि छ भने यहाँ विधार्थीहरुलाई घोकेर हैन, बुझेर, करले हैन रहरले पढाइने गरेको पनि यूमी स्कुल, विराटनगरका प्रिन्सिपल विवेक खरेलले बताउनुभयो ।
जापानसमाचारडटकमसँग कुरागर्दै राईले भन्नुभयो-'गुणस्तरिय शिक्षा नै बालबालिकाको भविष्य निर्माण गर्ने एक मात्र हतियार हो । आजका बालबालिकाको उज्वल भविष्य निर्माण गर्दा, भोलि उनीहरुले देश निर्माण गर्नेछन् ।'
ईन्टरनेट प्रविधिलाई मध्यनजर गरेर स्थापित यूमी स्कुल हाल खोटांग र सुनसरीको विराटनगरमा गरी २ स्थानमा रहेका छन् ।
हरेक महिना जसो विशेष गरी जापानी विधार्थीहरु स्वयंसेवीको रुपमा उक्त विद्यालयहरुमा अध्ययन गराउन जाने तथा विद्यालय व्यवस्थापनमा सहयोग र स्वयंसेवीका रुपमा जाने गरेका छन् ।
अमेरिका, अस्ट्रेलिया, क्यानाडा, बंगलादेश र डेनमार्कबाट पनि विधार्थीहरु विद्यालयको शैक्षिक स्तरमा सघाउन तथा स्वयंसेवी बनेर जाने गरेको जानकारी संस्थाका संस्थापक तथा निर्देशक शरद राईले जानकारी दिनुभयो ।
अमेरिकाको हार्वर्ड विश्वविधालयदेखि जापानको टोक्यो विश्वविधालयका विधार्थीहरु संलग्न रहेको यूमी स्कुलले सक्षम विद्यार्थीहरु तयार पार्ने लक्ष्य सहित देशप्रेमी नेता, सरकारी कर्मचारी तथा आर्थिक परिवर्तन ल्याउने उद्दमीहरु उत्पादन गर्ने लक्ष्यका साथ आधुनिक शिक्षामा जोड दिएर काम गरिरहेको राईको भनाइ छ ।