टोकियो, जापान ।
जापानको सरकारी सेवाका परीक्षामा उत्तिर्ण हुनेमा टोकियो विश्वविद्यालयका विद्यार्थीहरुको संख्या यस अघि कहिले नदेखिएको स्तरमा ओर्लिएको छ । आर्थिक वर्ष २०२२ मा सो विश्वविद्यालयका कूल २१७ जनाले सरकारी जागिरको परीक्षा उत्तिर्ण गरेका छन् ।
यो सन् २०१२ मा परीक्षा शुरु भएयताकै न्यून भएको सरकारले सोमबार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । यो अघिल्लो वर्षको भन्दा चाँहि ३९ कम हो । उत्तिर्ण परिक्षार्थीको संख्या घटेको भएपनि अन्य विश्वविद्यालयको भन्दा चाँहि धेरै नै भएको राष्ट्रिय कर्मचारी प्राधिकरणले बताएको छ ।
सो अवधमिा १५९ विश्वविद्यालयका १ हजार ८७३ जना उत्तिर्ण भएका छन् । यसमा क्योटो विश्वविद्यालयका १३० जना, होक्काइदो विश्वविद्यालयका १११ जना र वासेदा विश्वविद्यालयका ८४ जना छन् ।
परीक्षामा कूल १५ हजार ३३० जनाले आवेदन दिएका थिए । आवेदकमा उत्तिर्ण हुनेको अनुपात ८ दशमलव २ गुणा रहेको छ ।
अघिल्लो वर्ष भने यो दर ७ दशमलव ८ गुणाको कीर्तिमानी न्यून स्तरमा झरेको थियो । समीक्षा अवधिमा उत्तिर्ण हुनेमध्ये ५७३ जना महिला छन् । यो कूल उत्तिर्ण परीक्षार्थीको ३० दशमलव ६ प्रतिशत हो । लगातार दोस्रो वर्ष पनि यो अनुपात ३० प्रतिशत माथि रहेको छ ।