टोकियो, जापान ।
जापानको वायु आत्मरक्षा बलले पश्चिमी शहर ओसाकामा जमिनबाट प्रक्षेपित हुने पाक ३ ईन्टरसेप्टर मिसाइल तैनाथीको अभ्यास गरेको छ ।
मिसाइल रोधी यो अध्यास बिहिबार माइशिकाको तटिय इलाकामा भएको हो ।
पाक ३ प्रणालीका लागि राडार र प्रोपेल्ड लन्चरहरूले भरिएका छ वटा ठूला गाडीहरू मध्य जापानको मिए प्रिफेक्चरको शिविरबाट माइशिमा लेराइएका हुन् ।
एयर सेल्फ डिफेन्स फोर्सका सदस्यहरुले लन्चरको तयारी, राडार र एन्टेनाको उचित समायोजनको लागि सबै प्रक्रियाहरू जाँच गर्दा करिव २० मिनेट लागेको थियो ।
यदि एजिस विध्वंसकहरूले ब्यालेस्टिक क्षेप्यास्त्रहरूमा प्रहार गरि रोक्न असफल भएमा, पाक ३ प्रणालीले ती मिसाइलहरू रोक्नको लागि सक्षम हुने र सोही अनुसार डिजाइन गरिएको बताईन्छ ।
पाक ३ मिसाइलहरू ओसाका नजिकैको शिगा र मिए प्रिफेक्चरको शिविरमा तैनाथ गरिएको छ ।
यी क्षेप्यास्त्रहरूको दायरा केही दर्जन किलोमिटर मात्र भएकाले ठूला प्रतिष्ठानहरू नजिक वा क्षेप्यास्त्र खस्ने सम्भावना भएको ठाउँमा पहिल्यै तयारी गरी राख्नुपर्छ । एयर सेल्फ डिफेन्स फोर्सका अधिकारीहरूले उनीहरूले देश भरी तैनाथी अभ्यासहरू सञ्चालन गरिरहेको बताएका छन् ।
यस वर्ष उत्तर कोरियाले बारम्बार ब्यालेस्टिक मिसाइल प्रहार गरेपछि यी अभ्यासहरू भइरहेका छन् ।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले यस हप्ताको अन्त्यमा राष्ट्रपति जो बाइडेनको दक्षिण कोरिया र जापानको भ्रमणका क्रममा प्योङयाङले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रक्षेपण गर्ने वा आणविक परीक्षणको तयारी गर्ने चेतावनी दिएका छन् ।