(Japan) 3 rd July | 2022 | Sunday | 5:14:39 AM || (Nepal) 1:59:39 AM
 
 

नक्कली डेमन स्लेयर स्मार्टफोन केस बेच्नेमाथि मुद्दा चलाइदै

  POSTED ON : Thursday, 19 May, 2022 | Views : 760

नक्कली डेमन स्लेयर स्मार्टफोन केस बेच्नेमाथि मुद्दा चलाइदै


खानागावा, जापान ।

जापानको खानागावा प्रिफेक्चरका प्रहरीहरुले नक्कली डेमन स्लेयर स्मार्टफोन केस बेच्ने एक महिलामाथि अभियोग चलाउँदैछ ।

मे १६ मा त्यहाँका प्रहरी विभागले लोकप्रिय एनिमे सिरिज ‘डेमन स्लेयरः किमेचु नो याइबा’ अनधिकृत रुपमा प्रिन्ट गरिएको स्मार्टफोन केस बेचेको र राखेको अभियोगमा एउटा महिला माथि मुद्दा चलाउन सरकारी अभियोजनकर्ताहरुसमक्ष कागजपत्र पेश गरेको छ ।

चिबा प्रिफेक्चरको फुनाबाशी नगरमा बस्ने अनि रेष्टुराँमा काम गर्ने एउटा ३९ वर्षिय महिलामाथि प्रतिलिपि अधिकार ऐन उल्लंघन गरेको आरोपमा मुद्दा चलाउन लगाइएको हो ।

आरोपीले सन् २०२१ को मार्च २१ तिर लोकप्रिय एनिमे पात्र प्रिन्ट गरिएको स्मार्टफोन केस १ हजार ४३० येनमा बेचेकी थिइन् । प्रकाशकहरुबाट अनुमति नलिइनकन सो केसमा एनिमे पात्र प्रिन्ट गरिएको छ भन्ने थाहा पाएर पनि महिलाले कस बेचेको बताइएको छ ।

डिसेम्बर २२ मा ती महिलासँग त्यस्तै खालको ६४ थान नक्कली केस भएको र उनले बेच्ने आशयले ती केसहरु आफूसँग राखेको बताइएको छ । खानागावा प्रिफेक्चरल प्रहरीको जुशी प्रहरी थानाका अनुसार ती महिलाले आफूमाथि लागेको अभियोग स्वीकार गरेकी छिन् ।

कोरोना भाइरसको महामारीका कारण आफूले गर्ने काम घटेपछि आम्दानीमा कमी आएको अनि सोको भर्पाई गर्न आफूले एउटा चिनियाँ वेबसाइटबाट नक्कली केस किनेर नक्कली सामान किनबेच हुने एपमार्फत बेचेको ती महिलाको भनाइ छ ।

आरोपीले सन् २०२० को जनवरी देखि सन् २०२१ को डिसेम्बरको बीचमा करीब १ करोड येन (७७ लाख डलर) मूल्य बराबरको नक्कली स्मार्टफोन केस बेचेको बताइएको छ ।