टोकियो, जापान ।
जापानले कोभिड विरुद्धको लडाईमा विकासशील देशहरुलाई टेवा दिन ५ अर्ब डलर बराबरको सहयोग गर्ने भएको छ ।
जापानी प्रधानमन्त्री फुमिओ किशिदाले बिहिबार एउटा सम्मेलनमा यस्तो बताएका हुन् । कोरोना भाइरसको महामारी नियन्त्रणको विश्वव्यापी प्रयास थप बलियो बनाउनका लागि उनले सो सहयोग गर्ने वाचा गरेका हुन् ।
कोभिडविरुद्धको लडाईमा ३ अर्ब डलर भन्दा बढीको ताजा आर्थिक प्रतिबद्धता आएको यो यस्तो खालको दोस्रो सम्मेलन भएको सह–आयोजक देश अमेरिकाले बताएको छ ।
अमेरिकाले जर्मनी, इन्डोनेशिया र सेनेगलसँग मिलेर सो सम्मेलनका सह–आयोजना गरेको थियो । जापानको ५ अर्ब डलर बराबरको सहयोगमा संयुक्त राष्ट्र संघ नेतृत्वका कोभ्याक्स अभियानमा वित्तीय सहयोग पनि छ ।
जापानले जापानी अन्तरराष्ट्रिय सहयोग निकाय जाइकामार्फत अफ्रिकामा स्थानीय स्तरमा खोप र औषधि उत्पादन बढाउन २० करोड डलरसम्म दिने पनि किशिदाले बताए ।
दयनीय अवस्थामा रहेका मानिसहरुले खोप, परीक्षण र भावी स्वास्थ्य संकटमा उपचार र रोकथाममा पहुँच पाउँछन् भन्ने सुनिश्चित गर्न सम्मेलनको आयोजना गरिएको थियो ।