कविकिरण न्यौपाने- नागोया, जापान ।
सोलुखोम्बु जिल्ला विचा टोल ताप्पतिङ २ स्थायी घर भई हाल जापानको नागोयामा बस्दै आएका ४१ वर्षका मृतक मनकुमार मगरको भोली अर्थात् शनिबार जापानको नागोयामा दाहसंस्कार गरिने भएको छ ।
गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समिति सदस्य सदस्य दिपक कार्कीका अनुसार आवश्यक कानुनी प्रकृया पुरा गरि शनिबार लागि दाहसंस्कार गरिन लागिएको हो ।
साथीलाई भेट्न जान लागेको अवस्थामा जापान प्रहरीले अप्रिल १५ तारिक बिहान १० बजेको समयमा प्रहरीको नियन्त्रणमा लिइ हिरासतमा रहँदा स्वासप्रस्वाश बन्द भएको जानकारी ४ दिनपछि मात्र प्राप्त भएको र जानकारी प्राप्त भए लगतै उपचारको लागी अस्पतालमा लगि भेन्टिलेटरमा राखी उपचार कै क्रममा मे ५ तारिक मृत घोषणा गरिएको एनआरएनए नागोयाका संयोजक मनोजबम मल्लले बताए।
हिरासत भित्र नै मृत्यु भएको घटनाको विषयमा सत्यतथ्य पत्ता लगाई परिवारलाई न्याय दिने सम्बन्धमा हाल क़ानून व्यावसायी मार्फत आवश्यक प्रकिया अगाडी बढाईएको कार्कीले जानकारी गराए ।
मगरको परिवारलाई कसरी न्याय दिलाउन सकिन्छ भनेर एनआरएनए नागोया लागिपरेको मल्लको भनाई छ। परिवारको आग्रहमा निजको पार्थिव शरीरको अन्तिम संस्कार कार्यमा निजका छोरा १८ वर्षीय सुरज मगर १० वर्षीय छोरी सन्धिका मगर र ससुरा भिम बुढाथोकी मगर जापान आई सकेका छन्। मृतक मनकुमार मगर श्रीमति कान्छीमाया मगरसंगै जापानमा बस्दैं आएका थिए।
गरिखान विदेशमा आएर मेहेनत गरेको अवस्थामा यस्तो घटना घट्नु दुःखद भएको एनआरएनए जापानका उपाध्यक्ष राजकुमार अधिकारीले बताउँदैं अन्यष्टि कार्यमा सम्भव भएका नेपाली समुदायलाई उपस्थितिको लागि अनुरोध गरेका छन्।
अन्यष्टि Nagoya-Shi , Minato-ku , higashi chaya 3-123 मा दिनको १:३० बजे हुने बताईएको छ।