टोकियो, जापान ।
जापानमा रहेका प्रतिभावान गायन तथा नृत्य क्षेत्रका कलाकारहरुका लागि अहिलेसम्मकै खुशीको खवर आएको छ । त्यो हो नेपालको रियालीटि शो अन्तर्गत सर्वाधिक पुरस्कार राशिको लोकप्रिय मनोरञ्जनात्मक कार्यक्रम 'मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स सिजन २' को अडिसन पहिलो पटक जापानमा पनि हुने भएको छ ।
इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले विश्वभर छरिएर रहेका नेपाली जातिका समुदायका गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभाहरु पहिचान गर्नका लागि आयोजना गरेको मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको दोस्रो सिजनको अडिसन जापानको राजधानी टोकियोमा पनि हुने भएको हो ।
विगतमा विभिन्न रियालीटि कार्यक्रमहरुमा सहभागी हुन चाहने प्रतिभावान कलाकारहरुले नेपाल नै जानुपर्ने खर्चिलो असहज अवस्थालाई चिर्दै आयोजकले नेपाल, जापान, थाईल्याण्ड, अमेरिका सहित करिव एक दर्जन देशमा अडिसन आयोजनाको तयारी गरेको बताइएको छ ।
नेपालभित्र र संसारको जुनसुकै कुनामा बसेको भए पनि नेपाली कला, संस्कृतिप्रति अगाध आस्था र विश्वासले ओतप्रोत भएका र यो क्षेत्रमा आफ्नो समुदायमा विश्वभरी नै परिचय बनाउन सक्छु भन्ने आभिलाषा राख्ने नेपाली जातिका समुदायका लागि यी दुई रियालिटी शोहरु आयोजना गरिएको आयोजकले जनाएको छ । आयोजकले दुबै शोका लागि हालसम्मकै सर्वाधिक पुरस्कार राशी घोषणा गरिएको छ ।
विशुद्ध नेपाली कला, संस्कृतिलाई सम्बर्धन, प्रवर्धन र विकास गर्ने यो अभियानको अडिसन टोकियोमा आयोजना गरिने र यसको लागि मिति समेत छिट्टै तोकिने भएको छ ।
संसारभर छरिएर रहेका नेपालीमूलका एवं नेपाली जातिका बीचको साझा सांस्कृतिक चौतारी बन्न सकोस्, नेपाली कला, संस्कृतिका माध्यमबाट सबैलाई एउटै सूत्रमा जोड्न सकियोस् र नेपाली जातिका प्रतिभाहरुलाई जहां बसे पनि नेपाली कला संस्कृतिमा गर्व गर्न सक्ने अवसर दिन सकियोस् भन्ने भावनाले “मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स" आयोजना गरिएको आयोजकले जापान अडिसन हुने जानकारी सार्वजनिक अघि बताएको छ ।
मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको अडिसनका बारेमा जानकारी दिन आयोजक टिमले अनलाईन मार्फत सहभागी भएर आईतबार दिउँसो टोकियोमा रहेका पत्रकार तथा अन्य व्यक्तिहरुसँग एक भेटघाट कार्यक्रम आयोजना गरेको छ ।
हालका लागि जापानमा आयोजना हुने मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको अडिसनको कार्यक्रम संयोजकमा लोक दोहोरि गायक सूर्य खड्का, लोक दोहोरी प्रतिष्ठान जापान शाखाका अध्यक्ष महेन्द्र न्यौपाने, अनेसास केन्द्रिय सचिव रबिन शर्मा तथा प्रविधि तथा सूचना सम्प्रेषणको क्षेत्रमा कार्यरत बिष्णु सुबेदी 'निशान'लाई जिम्मेवारी दिएको आयोजकले जनाएको छ ।
छनौट हुने सके नेपाल जाने खर्च सबै आयोजकले व्यहोर्ने
जापान समाचारले प्राप्त गरेको जानकारी अनुसार जापानमा आयोजना हुने अडिसनबाट छनौट भएका मेरो भ्वाइस युनिभर्स तथा मेरो डान्स युनिभर्समा छनौट सहभागीको नेपाल जाने हवाई खर्च सहित नेपालमा प्रतियोगिता अवधिभर लाग्ने सबै खर्च समेत आयोकले नै व्यहोर्ने छ ।
नेपाल जाने हवाई टिकट सहित नेपाल रहँदाको खर्च समेत आयोजकले नै तिर्ने भएकाले जापानबाट प्रतिभावान कलाकारहरुको लागि गायन र नृत्य क्षेत्रमा अघि बढ्ने र ठूलो धनराशीको पुरस्कार जित्ने यो सूवर्ण मौका हुने ठानिएको छ ।