(Japan) 17 th February | 2025 | Monday | 10:40:07 AM || (Nepal) 7:25:07 AM
 
 


टोकियोमा ट्रेनका ड्राइभरहरूलाई भूतप्रेतको आशंका, पूजापाठ र पुजारीसँग परामर्श गर्दा पनि निको भएन

  POSTED ON : Saturday, 11 January, 2025 | Views : 1958

टोकियोमा ट्रेनका ड्राइभरहरूलाई भूतप्रेतको आशंका, पूजापाठ र पुजारीसँग परामर्श गर्दा पनि निको भएन


टोकियो, जापान ।

मध्य टोकियो क्षेत्रमा संचालित जापानको ईस्ट जापान रेलवे कम्पनी जेआर ईष्टले टोकियोको चुओ र सोबु लाइनका केही ट्रेन ड्राइभरहरूलाई अनौठो स्वास्थ्य समस्या आएको बताएको छ । विशेषगरी नाकानो स्टेशन नजिकको टोलीका ड्राइभरहरूमा यो समस्या धेरै देखिएको छ ।

सन् २०२१ देखि २०२४ सम्म ४३ वटा यस्तो घटना दर्ता भएका छन्, जहाँ ड्राइभरहरू अचानक थकान महसुस गर्ने, निद्रा लाग्ने, वा अन्य स्वास्थ्य समस्याबाट ग्रसित भएका छन् ।

जेआर ईस्टले टोकियोमा रेल चालकहरूमाझ देखिएको स्वास्थ्य समस्याहरूको श्रृंखलाको पछाडि दुष्ट आत्माहरू हुन सक्ने भन्दै बारम्बार ओभररन र अन्य सञ्चालन अवरोधहरू सामना गर्नु परेको बताएको छ ।

यो घटना सन् २०२१ को अन्त्यतिर देखा परेको हो । पश्चिमी टोकियोको मिताका र चिबा बीच जोड्ने रेलहरू सञ्चालन गर्ने एउटै टोलीका चालकहरूमा यस्तो समस्या देखिएको छ ।

कम्पनीले पानी, हावा, र काम गर्ने वातावरणको परीक्षण गरे पनि कुनै ठोस कारण पत्ता लगाउन नसकेपछि भूतप्रेतका कारण यसो भएको हो कि भन्ने शंका गरेको छ । त्यसैले यसको समाधान खोज्न शिन्तो पुरोहितबाट पूजाआजा समेत गराईयो । तर समस्या अझैपनि जस्ताको त्यस्तै छ । उल्टै त्यसपछि थप पाँच घटनाहरू भएका छन् ।

यि चालकहरु राजधानीका दुई व्यस्त यात्रु लाइनहरू चुओ र सोबु लाइनहरूको सेवा क्षेत्रमा समेटिन्छन् । लगभग २२० चालकहरू पिडित रहेका चालकको टोलीमा रहेका छन् । जुन नाकानो स्टेशन नजिकै अवस्थित छ ।

अहिले पुनः कम्पनीले ड्राइभरहरूको काम गर्ने वातावरण सुधार गर्न कदम चालेको छ, औद्योगिक चिकित्सक सहितको टोलीले समस्याको कारण पत्ता लगाउन काम गरिरहेका छन् । तरपनि अहिलेसम्म ठोस समाधान भने भेटिएको छैन ।

चुओ लाइनमा काम गर्ने चिबा प्रान्तमा आधारित चालकहरूको छुट्टै टोलीले यस आर्थिक वर्षमा दुईवटा समान घटनाहरू रिपोर्ट गरेका छन् ।

जेआर अधिकारीहरू अलमल्लमा परेका छन्, किनकि त्यो विशेष टोलीमा चालकहरूलाई असर गर्ने काम गर्ने अवस्थाहरूमा कुनै स्पष्ट कारण देखिएको छैन ।

जेआर ईस्टले रेलहरू प्रयोग गर्ने यात्रुहरू सुरक्षित रहून् भन्ने कुरा सुनिश्चित गर्न सबै उपाय अपनाउने प्रतिबद्धता जनाएको छ ।