टोकियो, जापान ।
नेपाली महिलाहरुको प्रमुख चाडपर्वको रुपमा रहेको हरितालिका तीजको अवसर पारेर यसपटक जापानमा रहेका नेपालीहरुको लागि नेपाली तीज गीत सहितको सांगितिक माहोलमा रमाइलो गराउनका लागि नेपालबाट लोकप्रिय तीन कलाकार एकसाथ आउने भएका छन् ।
जापानमा मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गर्दै आइरहेको लाइफ फर फ्रेण्डसले लोकप्रिय गायक रामजी खाँडको साथमा लोकप्रिय गायिका समिक्षा अधिकारी सहित रुपमा घर्ती मगरको साथमा टोकियो सहित जापानका प्रमुख शहरहरुमा सांगीतिक कार्यक्रम गर्ने भएको छ ।
फुलफुलेर, छुट्ने कुरा नगर, धर्ती कुनको आकाश जुनको हो, नौतुनाको रेल लगायत हजारौं गीतमा आफ्नो सुमधुर स्वर दिएका रामजी खाँडका सयौं लोक तथा तीज गीतहरु लोकप्रिय छन् ।
नेपाली पाश्र्व गायनमा अहिलेको पुस्तामा लोकप्रिय रहेकी गायीका समिक्षा अधिकारी तीज फेस्टिवलको अर्को आकर्षण रहेकी छिन् । बरिलै, बारुलाले डस्यो, सारीमा सरर गाडीमा, पछ्यौरी लिसियो, सुर्ती माड्दा माड्दै लगायत दर्जनौं लोकप्रिय तीज तथा लोक दोहोरी गीतमा स्वर दिएकी गायिका अधिकारीले आधुनिक तथा नेपाली चलचित्रका सयौं लोकप्रिय गीतमा स्वर दिसकेकी छिन् ।
खल्ली बल्ली, निर्मोही, पानी सलल, खोली तर्यो गाई लगायत दर्जनौं लोक तथा दोहोरी गीतमा स्वर दिएकी रुपा घर्ती मगर पनि जापानमा हुन लागेको तीज गीतमा जापानवासी नेपाली महिला दिदि बहिनीहरुलाई नाच्न र नचाउन आउन लागेको आयोजक संस्थाका खिमराज शाहीले जानकारी दिनुभयो ।
शाहीका अनुसार तीज फेस्टिवल राजधानी टोकियोमा सेप्टेम्बर ५ तारिख बिहिबार आयोजना हुनेछ । टोकियोमा तीज फेस्टिवल मेगुरो कुमिन सेन्टरमा साँझ ५ बजेबाट ९ बजेसम्म हुने भएको छ ।
तीज फेस्टिवल कार्यक्रमको लागि टिकट विक्रि सुरु गरिसकेको बताउँदै फेस्टिवल आयोजक संस्था फ्रेण्डस् फर लाइफका खिम राज शाहीले कार्यक्रमको टिकट समयमै बुकिगं गराउन सबैमा अनुरोध समेत गर्नुभयो ।
तीज फेस्टिवलमा आएका तीनै जना कलाकार टोकियो सहित नागोया, ओसाका, फुकुओका, ओकिनावा लगायत शहरमा पनि नेपाली महिला दिदि बहिनीहरुको साथमा तीज फेस्टिवलमा सहभागी हुने बताइएको छ ।