टोकियो, जापान ।
मगर समुदाय र संस्कृतिमा आधारित चलचित्र ‘घरज्वाइँ’ को जापान प्रदर्शनमा सहभागी हुन अभिनेत्री मिरुना मगर जापान आउने भएकी छिन् ।
राजधानी टोकियोको बुन्क्यो सिभिक सेन्टर, कासुगामा अगष्ट ११ तारिख आइतबार हुने प्रदर्शनमा सहभागी हुन आफु जापान आउन लागेको चलचित्रकी अभिनेत्री नायिका मिरुना मगरले भिडियो मार्फत जानकारी गराएकी छिन् ।
मगर समुदायको विवाह संस्कृतिलाई प्रस्तुत गरिएको उक्त चलचित्रको निर्देशन अनिल बुढा मगरले गरेका छन् ।
चलचित्र ‘घरज्वाइँ’ले मनोरञ्जनसँगै उक्त समुदायको संस्कृतिलाई नजिकबाट बुझ्न मद्दत गर्ने चलचित्रका प्रोड्युसर जनक घर्ती मगर बताउँछन् । घर ज्वाइँ बस्ने परम्परालाई छोरीप्रतिको उच्च सम्मानका रुपमा सो चलचित्रमा देखाएको छ । अन्य समुदायमा छोरीको विवाह गर्दा सोधखोज गर्ने चलन रहे पनि मगर समुदायमा घरमै राखेर ज्वाइँको परीक्षण गरिने परम्परालाई चलचित्रमा देखाइएको छ ।
भविष्यमा दुःख परेमा ज्वाइँले कसरी सङ्घर्ष गर्छन् र छोरीलाई पाल्छन् भन्ने परीक्षाकै रुपमा घरज्वाइँ बस्ने परम्परालाई बुझ्न सघाउने बताइन्छ । चलचित्रमा घरज्वाईंको भूमिकामा नायक दयाहागं राईको अभिनय रहेको छ ।
चलचित्रको जापान प्रर्शन अधिकार आन्भि इन्टरटेनमेन्टले लिएको छ भने टोकियो प्रदर्शन नेपाल मगर संघ जापानले गर्दैछ । चलचित्र जापानका एक दर्जन बढि प्रमुख शहरहरुमा प्रदर्शनको मिति तय भइसकेको आन्भि इन्टरटेनमेन्टका प्रमुख पवन थापाले जानकारी दिनुभयो ।
जिएम मुभिज र एबिएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘घरज्वाइँ’मा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आलेलगायत कलाकारको अभिनय देख्न सकिन्छ ।
अभिनेत्री मिरुना मगरले आफू विदेशमा हुर्किएकाले यस संस्कृतिलाई नजिकबाट चलचित्रकै माध्यमले बुझ्न पाएको बताएकी छिन् ।