काठमाडौं, नेपाल ।
नेपालका हलमा यो साता कुनैपनि नेपाली चलचित्र प्रदर्शन नहुँदा शुक्रबार नेपालमा तीन नयाँ बिदेशी फिल्म रिलिज भएका छन् ।
रिलिज भएका फिल्ममा बलिउडको ‘ब्याड न्युज’, हलिउडको ‘ट्वीस्टर्स’ सहित जापानी एनिमेटेड ‘डिटेक्टिभ कोनान भर्सेस किड द फ्यान्टम थिफ’ रहेका छन् ।
‘ब्याड न्युज’ को रनटाइम १४२ मिनेट र पीजी प्रमाणपत्र हो । आनन्द तिवारी निर्देशित फिल्ममा विक्की कौशल, तृप्ति डिमरी र एम्मी भिराकको मुख्य भूमिका छ । यो फिल्म कमेडी रोमान्स हो ।
यो फिल्म एक पञ्जाबी पुरुष र एक क्रिस्चियन–हिन्दु युवतीको कथा हो । उक्त पुरुषले युवतीसँग एक रात बिताउँछ । तर अविश्वसनीय रुपमा युवती गर्भवती हुँदा कथाले नयाँ मोड लिन्छ ।
हलिउडको ‘ट्वीस्टर्स’को रनटाइम १२३ मिनेट र पीजी प्रमाणपत्र छ । ली आइज्याक चुङ निर्देशित फिल्ममा ग्लेन पावेल डेजी एड्गर, जोन्स एन्थोनी रामोस र किर्नन सिपकाको अभिनय छ । एक्सन, एड्भेन्चर र थ्रिलर जनरामा निर्माण भएको यो फिल्मले सामुन्द्रिक आँधी आउने बाटोमा फसेका पात्रको कथा भन्छ । यो समस्याबाट उनीहरु मुक्त हुनुपर्छ ।
जापानी एनिमेटेड ‘डिटेक्टिभ कोनान भर्सेस किड द फ्यान्टम थिफ’को रनटाइम ८० मिनेट छ । यसले पीजी प्रमाणपत्र पाएको छ । सुनसुके इसिहाराले यो फिल्मलाई निर्देशन गरेका हुन् ।
यो फिल्मले कोनन र किड द फ्यान्टम चोरबीचको टकरावलाई प्रस्तुत गरेको छ । यो चलचित्र नयाँ फुटेजसहित नयाँ टिभी श्रृंखलाको विशेष संकलन हो ।
नेपाली हलमा घरज्वाइँ नेपाली चलचित्र सहित हिन्दि फिल्म कल्की, डेस्पेक्बल मी ४ लगायत फिल्म पनि प्रदर्शन भइरहेका छन् ।